समाज

छाउपडी गोठ भत्काउने अभियान शुरु

कञ्चनपुर, ४ पुस -  वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ ।

वेदकोट वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको त्यस्ता गोठ भत्काउने अभियान अन्तर्गत वेदकोट वडा नं १ र २ मा चार दर्जन बढी गोठ भत्काइएका छन् । वेदकोटलाई छाउपडी गोठ मुक्त नगरपालिका बनाउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सीता बोहराले बताईन्।

“छाउपडी कुरीतिको रुपमा रहेको छ, कानूनले पनि यसलाई अवैध भनेको छ” उनले भनिन्  , “महिला अझै पनि छाउपडी गोठमा बसेकाले भत्काएका हौँ ।” अभियान सबै वडामा लगिने जनाइएको छ ।
गोठ भत्काउने अभियानमा वडाध्यक्षहरुले पनि साथ दिएका छन् । वडा नं १ का अध्यक्ष हरि गिरी र २ का अध्यक्ष नरेशबहादुर सिंहले गोठ भत्काउन स्थानीय बासिन्दासँगै बस्तीमा पुगेर सहयोगगरेका छन्

वडा नं १ का अध्यक्ष गिरीले छाउपडी गोठमा बस्दा महिला असुरक्षित हुने भएकाले भत्काउनमा सहयोग गरिएको बताउनुभयो । “गोठ घरबाट टाढा हुुन्छ, त्यसरी बस्दा बलात्कारमा परेका केस आएका छन्, चोरी डकैतीको डर हुन्छ” उनले भने , “महिलालाई सुरक्षित बनाउन गोठ नभत्काई हुँदैन ।” घरबाट टाढा गोठमा बस्दा परिवारका अन्य सदस्यसित सम्पर्क समेत हुन नपाएर विगतमा महिलाले धेरै दुःख पाएको अध्यक्ष गिरीले बताए।

वडा नं १ मा १२ र २ मा ३२ छाउपडी गोठ भत्काइएका छन् । गोठ भत्काउनुअघि संघसंस्थाले महिलासित जनचेतनामूलक कार्यक्रम गरेको थिए । महिलालाई कार्यक्रममा सहभागी गराएपछि गोठ भत्काउन थालिएको केन्द्रका अध्यक्ष बोहराले बताए।


सर्वोच्च अदालतले छाउपडी प्रथालाई अवैध घोषणा गरेपछि सरकारले यसको न्यूनीकरणका लागि कानून बनाएको छ । कानूनका आधारमा स्थानीय तहमा छाउपडी न्यूनीकरणका लागि समिति गठन गरिएका छन् । सुदूरपश्चिममा रजस्वला भएकाहरु समयमा पाँच दिनसम्म घरभन्दा बाहिर बनाइएको गोठमा बस्छन् । त्यहीं गोठलाई छाउपडी गोठ भन्ने गरिएको छ । कृष्णपुर, वेदकोट र झलारीमा सबैभन्दा बढी छाउपडी गोठ छन् ।

प्रकाशित: ४ पुस २०७४ ०५:०७ मंगलबार

छाउपडी गोठ भत्काउने अभियान शुरु