समाज

कंक्रिट संरचनाले रानीपोखरीको मौलिकता मासिँदै

काठमाडौं- काठमाडौं महानगरपालिकाले ऐतिहासिक रानीपोखरीमा कंक्रिटको पर्खाल लगाउँदा पोखरीको मौलिक पहिचान गुम्ने भएकाले संस्कृतिविज्ञहरू विरोध गरेका छन् ।
सम्पदाविद् प्रा. सुर्दशनराज तिवारीले महानगरपालिकाले कंक्रिटको प्रयोग गरेर रानीपोखरीको मौलिकता र ऐतिहासिकता मेटाउन खोजेको आरोप लगाए । ‘रानीपोखरीको डिलमा कंक्रिटका पर्खाल लगाएर महानगरपालिकाले सम्पदा मास्ने काम गरेको छ,’ उनले भने, ‘आधुनिक  निर्माण सामाग्री प्रयोग गरेर पुरानो संरचनालाई ध्वस्त पारिँदै छ ।’ तिवारीले महानगरले पुरातŒवको मापदण्ड नाघेर मन्दिर पुनर्निर्माणमा रड तथा सिमेन्टको प्रयोग गरेको भन्दै  विरोध गरेका हुन् ।
पछिल्लो समय महानगरपालिकाले पोखरीको पुरानो संरचना मास्दै पर्खाल लगाउनुको साथै पानी अड्याउने प्राचीन प्रविधीलाई समेत नोक्सान पु¥याइरहेको छ ।
सेभ हेरिटेजका संयोजक आलोक तुलाधारले काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण प्राचीन स्मारक ऐन २०१३ विपरीत कंक्रिटको प्रयोग गरेको बताए । ‘प्राचीन सम्पदाको पुनर्निर्माणमा मौलिक निर्माण सामग्रीको प्रयोग गरेर पुरानै स्वरूपमा फर्काउनुपर्ने प्रावधान उल्लेख छ,’ उनले भने, ‘महानगरपालिकाले रानीपोखरी घेर्न कंक्रिट पर्खाल लगाउने तथा अन्य आधुनिक निर्माण सामग्रीको प्रयोग गरिरहेको छ । यसले निकट भविष्यमा रानीपोखरी मुनिको पानीको स्रोत सुक्ने र पोखरीको मौलिक पहिचानमा आँच आउने जोखिम बढेको छ ।’ २०७२ सालको भूकम्पले रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिर भत्किएको थियो ।
काठमाडौं महानगरपालिकाले बालगोपालेश्वर मन्दिर निर्माणमा आधुनिक सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्दा पुरातŒव विभागले रोक लगाएको थियो । ‘कंक्रिटको प्रयोगले पोखरीको ऐतिहासिकता नै लोप हुने जोखिम बढेको छ,’ प्राध्यापक तिवारीले भने, ‘आधुनिक निर्माण सामग्रीले पोखरीको प्राचीनता नै हराउँछ ।’ उनका अनुसार रानीपोखरीमा कालीमाटी राखेर पानी अड्याउने व्यवस्था मिलाइएको थियो । ‘थलथले कालीमाटी प्रयोग गरेर पोखरीमा पानी अड्याउने व्यवस्था गरिएको थियो,’ उनले भने, ‘अहिले महानगरले पुरानो पानी अड्याउने विधीलाई पूर्णतया छाडेको छ । त्यसैले ऐतिहासिक महŒव गुम्ने जोखिम बढेको हो ।’ रानीपोखरीमा ५१ वटा महत्वपूर्ण तीर्थस्थलको जल मिसाइएको ऐतिहासिक उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत धनीराम बरालले पुरानै डिजाइनअनुसार नै रानीपोखरीको किरानामा कंक्रिटको रिटेनिङ वाल लगाउने कार्य भइराखेको बताए । ‘पुरानो डिजाइनअनुसार नै काम भइरहेको छ । रानीपोखरीको डिलमा सौन्दर्यका लागि पर्खाल लगाएर पोखरीको संरक्षण गर्न लागेका हौं,’ उनले भने, ‘पोखरी भित्रको कार्य दोस्रो चरणमा गर्नेछौं ।’
‘मन्दिरको मौलिकतामा नबिग्रने गरी रानीपोखरीको पर्खाल पुनर्निर्माण गरिरहेका छौं,’ सहरी पूर्वाधार विकास महाशाखाका प्रमुख उत्तरकुमार रेग्मीले भने, ‘पहिलाको डिजाइन अनुरूप नै काम गरिरहेका छौं । पोखरीको डिल संरक्षणका लागि कंक्रिटको वाल बनाएका हौं । पोखरीभित्रको संरचनामा प्राचीन ढंगले नै पानी जम्ने गराउनेछौं ।’
भाइटिकाको दिनमात्रै खुल्ने परम्परा रहेको मन्दिर पुनर्निर्माणपछि वर्षभरि नै खोल्ने योजना महानगरपालिकाको छ । रानीपोखरी विंस १७२७ मा तत्कालिन राजा प्रताप मल्लले शोकाकूल रानीको मन बहलाउन बनाइएको हो ।

प्रकाशित: ४ पुस २०७४ ०३:१२ मंगलबार

कंक्रिट संरचनाले रानीपोखरीको मौलिकता मासिँदै