समाज

भूमिहीनले लालपुर्जा पाएपछि खुसीयालीमा दीप प्रज्वलन

सर्लाहीका भूमिहीनहरूले दीप प्रज्वलन गरी खुसीयाली मनाएका छन्।जीवनमा पहिलो पटक भूमिको मालिक बन्न पाएपछि भूमिहीनहरूले पाएको जमिनमा नै खुसीयाली मनाउँदै दीप प्रज्वलन गरेका हुन्।

राष्ट्रिय भूमि अधिकार मञ्चको अगुवाइमा सर्लाहीको जानकी नगर, हरैया, हरिवन लगायत विभिन्न गाउँका भूमिहीन, सुकुम्वासी तथा भूमिहीन दलितहरूले जमिनको लालपुर्जा पाएपछि जीवनको सबैभन्दा ठुलो खुसी प्राप्त गरेको बताएका छन्।

गत बिहीबार भूमि आयोगले जिल्लाको हरिवन र ईश्वरपुरमा पहिलो पटक २५ जना भूमिहीनहरूलाई जमिनको लालपुर्जा प्रदान गरेको थियो । भूमि प्राप्त गर्नेमा अधिकांश सुकुम्वासी तथा दलित समुदाय रहेका छन्।आयोगले भूमिहीनहरूलाई उनीहरु बसोबास गरिरहेको ऐलानी जमिनको लाजपूर्जा उपलब्ध गराएको हो।

राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरेले सर्लाहीका भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै सुकुम्वासी भूमिहीनहरूमा खुसी छाएको देखिएको बताएकी छन्।जमिनको मालिक बन्न पाउँदा भूमिहीन सुकुम्वासी तथा दलितहरू खुसीयालीमा नाचगान गरेको, दीप प्रज्वलन गरेको तथा विभिन्न नारा लगाउँदै उत्सव मनाएको अध्यक्ष घिमिरेको भनाइ छ ।

प्रकाशित: २५ कार्तिक २०८० १४:४७ शनिबार

भूमिहीनले लालपुर्जा पाएपछि खुसीयालीमा दीप प्रज्वलन