समाज

दियाबातीको उल्लासमा मधेस

उज्यालो पर्व तिहार

सिरहाको गोलबजार नगरपालिका–१० की बबिता महतो माटोले घर लिपेर चिटिक्क बनाउँदै। तस्बिर: मिथिलेश/नागरिक

मधेसको दूरदेहातमा दियाबातीले चिनिने उज्यालोको पर्व तिहारको उल्लासले मधेसी समाजलाई छपक्कै छोपेको छ। मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृ द्वितीया) गरी तीन दिन मनाइन्छ। 

असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्वका रूपमा लिइने तिहारले मधेसी समाजलाई पनि छपक्कै छोपेको छ। रावणको बध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवको दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा छ।

मधेसमा दुई सातादेखि नै दियाबाती पर्वको तयारी गरिन्छ। घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ। मधेसका दूरदेहातका आँगनमा माटो घोलेर थरीथरीका रंगोली बनाइन्छ। दियाबातीको मुख्य दिन शाकाहारी परिकार तयार गरिन्छ। ‘धन्तेरसको दिनदेखि शाकाहारी विधिले पूजापाठ गर्छौं,’ सिरहाकी गृहिणी ३८ वर्षीया प्रेमकाली यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ।’

मुलुकको अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ। लक्ष्मीपूजाको दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ।

दियाबातीका दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ। साँझ पर्न लाग्दा माटोको दियो र अन्य बिजुली बत्ती बालेर घरहरू झकिझकाउ गरिन्छ। दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ। घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन् जसलाई उक फेर्नु भनिन्छ।

तिहारको अवसरमा मधेसका जिल्लाहरूमा लक्ष्मीपूजाको दिन परापूर्वकालदेखि खेल्दै आएको उकालोलीको आफ्नै मौलिकता छ। समुदाय र क्षेत्र अनुसार चाडबाडमा रमाइलो गर्ने आफ्नै परम्परा र चालचलन अनुसार मधेसमा अझै उकालोली खेलिँदैछ।

सन्पाट, खरही र डोरीले बनेको उकालोलीको बनावट निकै मौलिक हुन्छ। यसको बनाबटले मधेसको सभ्यता झल्काउँछ। यही उकालोली खेल्ने चलन मधेसको तिहारको मुख्य विशेषता मानिन्छ। पूजाकोठामा बालिएको दियोबाट उकालोलीमा आगो सल्काउँदै पाँचपटक फेरिँदै माटोमा गाडेर यो खेल खेलिन्छ।

लक्ष्मीपूजाको साँझ घरको छानामा राखिने उकालोली भने सामाचकेवा पर्वमा विसर्जन गरिन्छ। घरमा पुरुषको संख्या जति छ, त्यति नै उकालोली बनाएर आपसमा खेल्ने चलन छ।

 उकालोली खेल्नाले घरबाट रोगव्याधि र दुःखकष्ट भाग्ने र देवी लक्ष्मीको बास हुने जनविश्वास रहिआएको छ। रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ।

दोस्रो दिन अर्थात् गोवर्द्धन पूजाका दिन गाईवस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ। यस दिन गाईवस्तुको सिङ रंग्याउने, घाँटीमा गरदामी लगाइदिने र गाईवस्तुको राइस (दाम्लो) फेर्ने चलन छ। दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ। सँुगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ।

तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ। यस पर्वलाई भाइ दुज, भरदुतिया, भ्रातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ। दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन्।

यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको देहातमा (ग्रामीण भेग) कायमै छ। भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिइएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ। त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रूपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।

संस्कृतिविद् एवं मैथिली विषयका प्राध्यापक उमेशकुमार झा भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबाती कसैले दीपावली भनेर उही पर्वलाई अलगअलग नामले मनाउँछन्। धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मी पूजा मनाइन्छ।’

दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती रहेको झाले बताए। घर लिपेर लक्ष्मीको स्वागत लक्ष्मीपूजा नजिकिएसँगै मधेसमा घर सिँगार्ने क्रम सुरु हुन्छ। पक्की घर हुनेले रङरोगन गर्छन्। कच्ची घर भएकाहरू माटोले बनाइएको घरको टाटी (भित्ता) माटोले लिपपोत गर्न जुट्छन्। मधेसका ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिँगार्न अहिले भ्याइनभ्याइ छ।

कच्ची घर हुनेहरूले माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ। त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ। त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ। टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ। ‘सफा र पवित्र घरमा लक्ष्मीको बास हुन्छ भनिन्छ,’ गोलबजार नगरपालिका–१० की बबिता महतो भन्छिन्, ‘चार दिनदेखि घर लिपपोत गर्दैछ। लक्ष्मीपूजा आइसक्यो।’

घर लिपपोत गर्न बबिता गागन खोलाबाट चिप्लो माटो जोहो गर्नमै दुई दिन लागेको बताइन्। कच्ची घरको सिँगार नै माटो हो उनले भनिन्, ‘माटोको घर माटोको घोलले चम्काउँछौं।’ उनका अनुसार माटो ल्याएर मात्र पुग्दैन। माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ। त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ। त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ। टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ। ‘सफा र पवित्र घरमा लक्ष्मीको बास हुन्छ। लक्ष्मी भित्र्याउन घर सफा गरी चिटिक्क बनाएको छु,’ उनले बताइन्।

प्रकाशित: २५ कार्तिक २०८० ००:०७ शनिबार

दियाबातीको उल्लासमा मधेस उज्यालो पर्व तिहार