समाज

आज धनतेरसः सुनचाँदीका भाँडा किन्नेहरुको भीड

आज कात्तिक द्वादशी, अर्थात् धनतेरस। सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ। दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ।

आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ। घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।

दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको हो। सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दीपावली’ पर्व शुरु गरिन्छ। पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड देखिन्छ। आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ।  

प्रकाशित: २४ कार्तिक २०८० १०:११ शुक्रबार

आज धनतेरसः सुनचाँदीका भाँडा किन्नेहरुको भीड