समाज

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

पाल्पा– वगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको स्काभेटरमा पहिरो खस्दा स्काभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शुक्रबार बिहान ८ः१५ बजे ड्राइभर चिया खान गएको समयमा रोकिराखेको स्काभेटरलाई माथिबाट खसेको पहिरोले बगाएको थियो। पहिरोको कारण स्काभेटरमा रहेका सहचालक थलहारा गाउँपालिका–३, पालाकाट्ने, बझाङका २१ वर्षीय सुनिलकुमार सिंह बेपत्ता भएका हुन् । सडक चौडा गर्नेको लागि कालिगण्डकी करिडोरमा स्काभेटर काम गर्ने तयारीमा रहेको बताइएको छ। 

बा १ क ८१९४ नम्बरको स्काभेटर पहिरोले बगाएको हो । जिल्ला प्रहरी कार्यालय र नेपाली सेना घटनास्थलमा पुगेता पनि सिंहको अवस्था भने अज्ञात रहेको छ । करिडोरबाट झण्डै दुई सय मिटर तल स्काभेटरको भने चेनमात्र देखिएको प्रहरीले जनाएको छ । माथिबाट ढुङ्गा खसिरहेका कारण उद्धार हुन सकेको छैन । शनिबारमात्र स्काभेटर बुटवलबाट आएर खोजी कार्य गरिने प्रहरीले बताएको छ। कालिगण्डकी करिडोर सफा गर्नको लागि तयारी अवस्थामा रहेको स्काभेटर पहिरोमा परेको हो। 

घटनास्थलमा खटिएका प्रहरी इन्सपेक्टर बिष्णु विकले उद्धारका लागि अर्को स्काभेटर घटनास्थलतर्फ जाँदै गरेको बताए । उनी भन्छन्, ‘सुख्खा पहिरो खसिरहेको छ । घटनास्थल सिद्धार्थ राजमार्गबाट तीन घण्टा टाढा पर्ने भएकोले आज उद्धार हुने सम्भावना कम छ ।’ बेपत्ता भएका सिंहको प्रहरीले खोजी गरिरहेको छ। 

प्रकाशित: २९ मंसिर २०७४ ११:१७ शुक्रबार

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो बेपत्ता