समाज

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो

फाइल तस्वीर

तिहार नजिकिएसँगै बर्दियाका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ।  नजिकिदै आएको तिहारका लागि सयपत्री, मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो।

मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले स्थानीय कामदार राखेर फूल टिप्ने गरेको गुलरिया नगरपालिका–३ स्थित खैरीमा व्यावसायिक रूपमा पुष्प खेती गर्दै आएकी पार्वती थारूले बताइन्।

उनले भनिन्, “कस्तो हुन्छ भनेर गत वर्ष चार कठ्ठा जग्गामा फूलखेती गरेको राम्रो भएपछि यस वर्ष आफ्नै एक बिघा जग्गामा फूलखेती गरेको गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी छ।”

मागअनुसार बजारमा फूल पठाउन सकेको छैन, उत्पादन भएका फूल समयमै टिपेर माला उनेर स्थानीय बजारदेखि बाँके, दाङ, काठमाडौंसम्म पठाउने गरेको बताइन्।

बिरुवा लगाएको लगभग ८० देखि ९० दिनमै फूल बेच्न तयार हुन्छ। एक कठ्ठा जग्गामा एक क्विन्टलसम्म फूल उत्पादन हुने थारुको भनाइ छ। पछिल्लो समयमा बर्दियाको बारबर्दिया र राजापुरमा पनि केही किसानले फूलखेतीको सुरुआत गरेको थारूले बताइन्।

गत वर्ष फूल प्रतिकिलो एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म बजारमा बिक्री भएको थियो। आफूले गत वर्ष प्रतिकिलो पाँच सय ५० रुपैयाँमा घरैबाट बिक्री गरेको थारूको भनाइ छ।

बर्दियाका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, विवाहमा गाडी सजाउन मिल्ने बाह्र महिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेरा फूलखेती गर्न थालेका छन्।

प्रकाशित: २४ कार्तिक २०८० ०४:२६ शुक्रबार

सयपत्री फूल टिप्ने चटारो बर्दियाका पुष्प व्यवसायी