समाज

मंसिरमा 'चैते हुरी' चलेपछि…

टंक क्षेत्री

सर्लाही-  विगत वर्षहरुमा सर्लाही सहित मध्य तराईका जिल्लाहरुमा मंसिर दोस्रो साताबाटै चल्ने शितलहरका कारण चिसोले सर्वसाधारण आजित बन्थे। चोक चौराहामा आगोको धुनी तापेर बसेका सर्वसाधारण भेटिन्थे भने बाक्लो (न्यानोयुक्त) कपडा लगाउनु पर्थ्यो।

तर यो वर्ष भने मंसिर बित्न लाग्दा समेत दिनभर चर्को घाम लागेका कारण राहत महसुस गरिरहेका सर्वसाधारण बदलिँदो मौसमले अचम्मित समेत मानिरहेका छन्। झन बुधबार मध्यान्ह त चैत वैशाख महिनामा चल्ने जस्तो हुरीले सर्वसाधारणलाई आश्चर्यचकित नै बनायो।

चैत बैशाखमा चलेजस्तो हुरीले पूर्व–पश्चिम राजमार्ग क्षेत्र धुलाम्मे बनाएको थियो। ‘मंसिर वितेर पुस सूरु हुने बेलामा चैत बैशाख जस्तो हुरी चलेको छ’ हरिवनका कमल कार्कीले अचम्मित हुँदै भने, ‘यस्तो त कहिल्यै देखिएको थिएन।’

हुरीले हरिवन बजार स्थित पसल अगाडी राखिएका होर्डिङ बोर्ड लडाउनुका साथै स–साना झुपडीका छाना समेत उडाएको थियो। जलवायु परिवर्तनको असरले मौसममा पनि निकै परिवर्तन देखिन थालेको जानकारहरु बताउँछन्।

बुधबार दिउँसो हुरीले उडाएको धुलोले धपक्कै ढाकेको सर्लाहीको हरिवन स्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्र। तस्बिर:  टंक क्षेत्री

प्रकाशित: २७ मंसिर २०७४ ०९:५८ बुधबार

मंसिरमा चैते हुरी चलेपछि…