समाज

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार

सुत्केरी लिन आएको सिरिक एयरको हेलिकप्टर । तस्विर : पवित्रकुमार शाही

कालिकोट – कालिकोटको एक सुत्केरीको ज्यान बचाउन हेलीकप्टर चार्टर गरिएको छ। मंगलवार जिल्ला अस्पताल कालिकोटमा सुत्केरी भएकी खाँडाचक्र नगरपालिका–१ चन्द्रा शाहीलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । चन्दालाई अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि मंगलबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। 

सोमबार राती अप्रेसन गरेर छोरा जन्मिएपछि शाहीको अत्याधिक रक्तश्राव भएका कारणले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला अस्पताल कालिकोटका डा. कौशल अलिले बताए । ‘अवस्था निकै जटिल थियो । राती अप्रेशन गरेर बच्चा निकालियो,’ उनले भने, ‘रक्तश्राव अत्याधिक भएपछि हेलिकप्टरमार्फत थप उपचारका काठमाडौं पठाइएको छ।’

शाहीको अवस्था गम्भीर भएपनि जन्मिएको बच्चा निकै स्वस्थ्य रहेको जिल्ला अस्पताल कालिकोटका डा. अलिले बताए। ‘गर्भवती भएको ४२ हप्ता पुग्दा पनि सुत्केरी व्यथा नलागेको र औषधि प्रयोग गरी सुत्केरी व्यथा लगाउदा पाठेघरको मुख खुल्दा पनि बच्चा नजन्मिए पछि अप्रेशन गरी बच्चा जन्माइएको हो ।’ उनले भने,‘पाठेघर च्यात्तिएर अत्याधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चाटर गरेर रिफर गरिए हो।’

जिल्ला अस्पताल कालिकोटबाट यस आर्थिक वर्षमा १ सय ६३ जना महिला जिल्ला अस्पतालमा सुत्केरी हुन आएका मध्ये तीन जना सुत्केरीलाई हेलिकप्टर चार्टर गरेर र १ जना गाडीबाट गरी ४ जना रिफर गरिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । जसमध्ये रिफर गरिएका एक महिलाको बाटोमा मृत्यु भएको थियो । 
 

प्रकाशित: २६ मंसिर २०७४ ०९:२९ मंगलबार

हेलिकप्टरद्वारा सुत्केरी आमाको उद्धार