समाज

मुगुका उच्च हिमाली भेगमा हिमपात

फाइल फोटो

मुगु – मंगलबार बिहानै देखि जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । 

विहानै देखि हिमपात सुरु भए पछि वातावरण निकै चिसो बन्दा जन जिवन कष्टकर बनेको छ । हिउँदमा जति बढी हिमपात हुन्छ त्यति नै हिउँदेबाली उत्पादनमा वृद्धि हुने हुँदा कृषकहरू भने उत्साहित बनेका छन् । जिल्लाका पुर्वी करान क्षेत्रको मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फु, चिताई, किम्री, सेरोग, दाउरा लगायतका सबै बस्तीहरूमा बिहानै देखि हिमपात भइरहेको छ।

जिल्लाका रुगा, रोवा, रारा, खमाले, सेरी, काटडाँडा, धैनकोट, कालै, सोरुकोट, फोतु लगायतका उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएको छ । सदरमुकाम गमगढी आसपासको उच्च क्षेत्रमा समेत हिमपात भइरहेको छ भने बेसी तिर पानी परिरहेको छ । हिमपात र वर्षाका कारण चिसो अध्याधिक बढे पछि विद्यालय समेत बन्द गरिएका छन्। यो हिउँदमा वर्षा र हिमपात समयमा नै सुरु भएकाले कृषकले खेतबारीमा लगाएको जौ, गहुँको उत्पादन राम्रो हुन सक्ने छायाँनाथ रारा नगरपालिका १३ का स्थानीयवासी गोरलाल बोहोराले बताए।

यता मुगुम कार्मारोङ गाउँपालिका२ मुगु गाउँका स्थानीयवासी जाडो बढेसंगै बेसी सर्न थालेका छन । हरेक वर्ष कार्तिकको अन्त्य तिर जाडो छल्न तातो स्थान तर्फ बसाई सर्ने र चैत्रको अन्त्य तिर मात्रै गाउँ फर्किने स्थानीवासी यो पटक भने ढिलो गरी बसाई सरेका हुन्। मंसिर दश गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका कारण चुनावमा भोट हालिसके पछि अधिकांश स्थानीयहरू चिसो छल्न बेसी झरेको मुगु गाउँका स्थानीयवासी छोर्तेन लामाले जानकारी दिए।

स्थानीयवासीहरू गाउँ देखि सिरानीचौर, पिप्लेडी, सदरमुकाम गमगढी, जुम्ला र काठमाडौँसम्म हरेक हिउँदमा जाडो छल्न जाने गरेको उनले बताए । स्थानीयवासी जाडो छल्न बेसी झरे पछि सीमा सुरक्षामा बसेको सीमा प्रहरी चौकी मुगुका प्रहरी पनि सदरमुकाम फर्किएका छन । गाउँका स्थानीयवासी जाडो छल्न वेसी झरेका तथा गाउँमा कोही पनि नभएकाले सीमा सुरक्षाका लागि खटिएको प्रहरीलाई फिर्ता बोलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए । स्थानीयवासी गाउँ नफर्कदाँसम्म प्रहरी पनि सीमामा नजाने र स्थानीय गाउँ फर्केपछि मात्र प्रहरी पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित: २६ मंसिर २०७४ ०८:१८ मंगलबार

मुगुका हिमाली भेगमा हिमपात