समाज

चार दर्जन संघ संस्था भूकम्प पीडितको राहत वितरणमा, तर पीडित राहतकै आशमा

गत शुक्रबारको भूकम्पबाट प्रभावित जिल्लाहरूमा राहत सामाग्री वितरण गर्न विभिन्न आई एनजिओ सहित ४ दर्जन संघ संस्थाहरू जाजरकोट जिल्लामा पुगे पनि पीडितसम्म अझ पनि राहत पुग्न सकिरहेको छैन।

ठुलो संख्यामा मानिसहरू प्रभावित बनेको र राहत सामाग्री निकै थोरै रूपमा ढिलो गरी जिल्ला पुगिरहेका कारण पीडितहरू मर्कामा परेका हुन्। भूकम्पबाट सबै भन्दा प्रभावित जाजरकोट र पश्चिम रुकुममा दर्जनौँ सङ्घसंस्थाले स्वास्थ्य सामाग्री, खाद्यान्न, अस्थायी बसोबासको लागि टेन्ट त्रिपाल लगायतका सामाग्री राहत स्वरूप वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ती संघ संस्थाहरू मनोपरामर्श सेवा, स्वास्थ्य सामाग्री, खाद्यान्न, लत्ताकपडा र अस्थायी बसोबासका सरसामाग्री थोरै मात्रामा मात्रै पीडितलाई वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

केही विदेशी आई एनजिओले त्रिपाल, खाद्यान्न, टेन्ट, कम्मल, म्याट समेत पीडित परिवारका लागि वितरण गरिरहेका छन्।

जाजरकोट जिल्लाका सहायक प्रजिअ हरिशचन्द्र शर्माका अनुसार युनिसेफ, स्विस दूतावास, प्लान इन्टरनेशनल लगायतले स्वास्थ्य साथै खाद्यान्न र टेन्ट त्रिपाल कम्मल, म्याट दिइरहेका छन्। ४२ वटा विभिन्न स्वदेशी र आधा दर्जन विदेशी संघ संस्था राहत सामाग्री सहित जिल्ला आएको उनले जानकारी दिए। ती सामाग्री जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण भएको छ।

राहत वितरण एकद्धार प्रणालीबाट गर्ने सरकारको निर्णय पछि जिल्ला प्रशासन कार्यालय अन्तर्गतको विपत् व्यवस्थापन समितिमा संकलन गरी प्रभावित क्षेत्रमा वितरणको संयोजन समेत कार्यालयले गरेको छ। ती सामाग्री सम्बन्धित स्थानीय तहसम्म पु¥याउने काममा जिल्ला प्रशासन कार्यालयले संयोजन गरिरहेको हो।

‘राहत सामाग्री पर्याप्त आई नसक्दा पीडितहरू समस्यामा परेको छन्,’सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने । जिल्लामा ठुलो क्षति भएको र चिसो मौसमका कारण न्यानो कपडा त्रिपाल टेन्ट र पर्याप्त खाद्यान्न सामाग्रीको धेरै खाँचो रहेको उनले बताए।

भूकम्पबाट जाजरकोटमा मात्रै ९ हजार २४ घर पूर्ण क्षति हुँदा ६६ हजार परिवार विस्थापित छन्। १ लाख ७९ हजार ८ सय जना भूकम्पबाट प्रभावित छन्। पश्चिम रुकुममा १६ हजार ५ सय ७० घर पूर्ण क्षति भएको छ। भने ९ हजार ९ सय ६५ घर आंशिक क्षति भएको छ।

रूकुम पश्चिममा पनि १६ वटा विभिन्न संघ संस्थाले राहत वितरण गरेको सहायक प्रजिअ प्रवेश बडुवालले बताए।

अन्तर्राष्ट्रिय रेडक्रस, युनिसेफ, डब्लु एफएओ, युनिसेफ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले स्वास्थ्य सामाग्री, सेनेटरी प्याड, कीटनाशक औषधी, लगायतका सामाग्री राहत स्वरूप जिल्लामा वितरण गरिरहेको सहायक प्रजिअ प्रवेश बडुवालले बताए।

छ दिनअगाडि ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परि १ सय ५७ जनाको मृत्यु भएको छ। २ सय ५६ जना घाइते छन्। भूकम्पले ९ सय ३७ वटा घर पूर्ण र २ हजार ९ सय ५४ घरलाई आंशिक क्षति पु¥याएको छ। जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो। सरकारले मृतकका परिवारलाई २ लाख, घरविहीन भएकालाई अस्थायी टहरा निर्माणका लागि ५० हजार र तत्काल राहत आवश्यक पर्ने परिवारलाई २० हजार रुपैयाँ दिने निर्णय गरेको छ। 

भूकम्प प्रभावितको उद्धार तथा राहत र अस्थायी आवास निर्माणका लागि सरकारले ७ सय ४० प्रहरी, ३ सय ३४ जना सशस्त्र प्रहरी, र २ सय ६३ जना नेपाली सेना समेत जाजरकोट र रूकुम पश्चिम जिल्लामा परिचालन गरेको गृह मन्त्रालयले जनाएको छ। भूकम्पबाट जाजरकोट,रूकम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ बैतडी र जुम्ला प्रभावित छन्।

प्रकाशित: २२ कार्तिक २०८० ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App