समाज

नक्कली प्रहरी नियन्त्रणमा

चितवन प्रहरीले नक्कली प्रहरीलाई पक्राउ गरेको छ। आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी वृत्त महाराजगंज काठमाडौँबाट खटिएको प्रहरी टोलिले सोमवार नियन्त्रणमा लिएको हो।

बाँनियाले भरतपुरको हाकिमचोकमा रहेको धनलक्ष्मी पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको अफिस मर्मत सम्भारको लागि भन्दै एक लाख १९ हजार दुई सय रुपैयाँ बराबरको सामान ठगेको प्रहरीले जनाएको छ। उनले गत भदौ २७ गते पसलका सञ्चालक मात्रिका पराजुलीलाई प्रहरी निरिक्षकको अफिस मर्मत सम्भार र डेकोरेसनका लागि १० लाख आउने भन्दै १० हजार रुपैयाँ पेश्की छोडेर गएका थिए।

पछि असोज एक गते एसपी साबसँग कुरा गर्नु भनि कुरा गराएर सो सामान काठमाडौँ लैजाने अनुरोध गरेका थिए। पसल सञ्चालक पराजुलीले असोज दुई गते बा १७ च ३७४५ नम्बरको बलेरोमा फरमाइका, प्लाई, डेनराइड लगायतको एक लाख ७९ हजार २ सय बराबरका सामान पठाएको चितवन प्रहरीले जनाएको छ।  

उनले बोलेरो चालकलाई फोन गरेर कोटेश्वर नजिक बाटोबाट नै अर्को सवारीमा सामान लोड गरी लगेका थिए। पछि सामानको पैसा माग्दा धम्काई सम्पर्कमा नआएपछि पसल सञ्चालक प्रहरी कार्यालयमा उजुरी दिन आएपछि ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २२ कार्तिक २०८० ०१:५९ बुधबार

चितवन प्रहरी नक्कली प्रहरी पक्राउ ठगी गरेर हिँडेको खोटाङ मझुवागढि नगरपालिका