समाज

न पति रहे, न गर्भे शिशु

बोल्न खोज्छिन्, बोली फुट्दैन। घरी उठ्छिन्, घरी ओछ्यानमा पल्टिन्छिन्। चार दिनदेखि मुखमा राम्ररी अन्न छिरेको छैन। जाजरकोट, नलगाड–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले अहिले भेरी अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छन्।  

भूकम्पमा परेर उनका पति नवीन बुढा बिते। पेटमा हुर्कंदै गरेको ८ महिने शिशु (छोरा)लाई पनि भूकम्पले लग्यो। शुक्रबार आएको विनाशकारी भूकम्पले उनको खुसीलाई छिनभरमै चुडायो। भेरी अस्पतालको प्रसूति वार्डमा रहेकी जमुना यतिबेला विक्षिप्त अवस्थामा छिन्।  

भूकम्प जाँदा उनी र पति मस्त निन्द्रामा थिए । भूकम्पको झड्काले एकैपटक घर भत्कियो।  

ढुंगा र माटाको गाह्रो र टिनको छानो भएको दुईतले घर भत्किँदा पति नवीन र उनी एकै ठाउँमा पुरिए। घर भत्केको करिब आधा घण्टापछि स्थानीयले बाहिर निकाले। बाहिर निकाल्दा जमुना अचेत अवस्थामै थिइन् तर पति नवीन भने बितिसकेका थिए। भूकम्पमा परेका सासू र नन्दहरूलाई भने खासै चोट लागेन।  

भूकम्प गएको छिनभरमै नराम्रा खबर आउन थालेपछि जमुनाकी आमा पवित्रा खड्काको होसहवास उड्न थाल्यो। उनले छोरी जमुनाको अवस्था बुझ्न खोजिन्। छिनभरमै छोरी र ज्वाइँ घरभित्र पुरिएको नराम्रो खबर पाइन्। भूकम्पले ज्वाइँ नवीनलाई लगिसकेको र छोरीको अवस्था गम्भीर रहेको कुरा थाहा पाएपछि पवित्राको मुटुले ठाउँ छोड्यो। स्थानीय स्वास्थ्य चौकीमा जाँच गराउँदा छोरीको पेटभित्रको बच्चा जीवित नरहेको बताएपछि पवित्राले जमुनालाई कतै गाडी रिजर्व, कतै सेनाको हेलिकोप्टर गर्दै नेपालगन्जको भेरी अस्पतालसम्म ल्याइन्।  

चिकित्सकले जमुनालाई बेथा लगाएर पेटभित्रको मृत बच्चा निकालिदिए। जमुनाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ तर त्यो कहालीलाग्दो घटनाले उनलाई अहिले पनि पिरोलिरहेको छ। रोजगारीका लागि भारत गएका ससुरा शेरबहादुर बुढा र कान्छो देवर पवन बुढा घटना सुनेर सोमबार फर्केका छन्। छोरा र गर्भमा हुर्कंदै गरेको शिशु(नाति)लाई गुमाउनुपर्दा शेरबहादुर पनि निःशब्द छन्।

रोजगारीका लागि गत जेठमा कान्छो छोरालाई लिएर उनी भारतको हिमाञ्चल गएका थिए। ‘म भारतमा काम गर्न जाँदा जेठो छोरा नवीनले म पनि जान्छु बुवा भनेको थियो,’ उनले स्मरण गर्दै भने, ‘गर्भवती बुहारीको हेरविचार गर्नुपर्ने भएको हुँदा मैले कान्छो छोरालाई लिएर गएको हुँ।’ उनकी पत्नी र तीन छोरीलाईचाहिँ सामान्य चोट मात्रै लागेको छ।  

जमुनाकी आमा पवित्राले २०७९ फागुनमा छोरीले भागी विवाह गरेको र ज्वाइँको स्वभाव असाध्यै राम्रो लागेको बताइन्। ‘छोरीले भागेर विवाह गरे पनि राम्रै घरमा गएकी थिई, ज्वाइँ पनि राम्रै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘भूकम्पले राम्रा मान्छेलाई लगेर गयो।’ जमुना परिवारकी कान्छी(जुम्ल्याहा) छोरी हुन्। 

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले घाइते जमुनाको स्वास्थ्यमा क्रमिक रूपले सुधार हुँदै गइरहेको बताए। उनीलगायत अस्पतालमा भर्ना भएका भूकम्पका घाइतेको उपचारमा अस्पतालले आफ्नो सबै संयन्त्र परिचालन गरेको जानकारी दिए।  

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जमुनाको पेटबाट निकालिएको मृत शिशुको शव व्यवस्थापन गरिसकेको बताए। उनका अनुसार जमुनालाई प्रसूति कक्षमा बेथा लगाएर चिकित्सकले मृत शिशु निकालेका थिए। 

प्रकाशित: २२ कार्तिक २०८० ०१:३९ बुधबार

जाजरकोट नलगाड जमुना बुढामगर भेरी अस्पताल भूकम्प भूकम्पको झड्का