समाज

प्रशासकीय अधिकृतमाथि हातपात, प्रहरीले दर्ता गरेन जाहेरी

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीलाई कारबाहीको माग गर्दै लगातार ५ दिन देखि कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारे पछि सेवाग्राही मर्कामा परेका छन्।

गत कार्तिक १६ गते उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई कार्यकक्षमै हातपात गर्दै गालीगलौज गरेका थिए।

कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ वटा वडा कार्यालयबाट हुने सेवा प्रवाह रोकेपछि सेवाग्राही मारमा परेका छन्। उपाध्यक्षलाई पक्राउ गरी कारबाहीको माग गर्दै अध्यक्ष कमलेशशरण चौधरी र अधिकृत ज्ञवालीले जिल्ला प्रशासन र प्रहरी कार्यालयमा गत कार्तिक १६ गत साँझ नै निवेदन दिएका थिए। तर घटना भएको ५ दिन सम्म पनि उपाध्यक्ष चौधरी कुर्मी अझै पक्राउ परेका छैनन्। 

उपाध्यक्षलाई कारबाहीको माग गर्दै जिल्ला स्थित ४ कर्मचारी संगठन तथा १० वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले समेत प्रजिअ शंकरहरि आचार्यलाई ज्ञापन पत्र समेत दिई सकेका छन्। 

शुद्धोदन गाउँपालिकाका कर्मचारीहरू जिल्ला प्रहरी कार्यालयमा पटक पटक डेलीगेशन समेत गएका छन्। तर प्रहरी उपरीक्षक नवरत्न पौडेले भने कानुनी कारबाही हुँदै छ भन्दै पन्छिने गरेका कर्मचारीहरू बताउँछन्।

उपाध्यक्ष नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादीका जिल्ला देखि केन्द्रीय नेताहरुसंको साथ रहेकोले उपाध्यक्ष चौधरीमाथि कारबाही गर्न आट गर्न नसकेको शुद्धोदन गाउँपालिकाका सूचना अधिकारी सन्तोष कुमार श्रीवास्तवले बताए। उनले घटनाको ५ दिन हुँदा सम्म उजुरी समेत दर्ता नहुनु र दोषी अझै सम्म छाती फुलाएर हिँड्नु दुःखद कुरा भएको बताए।

यस अघि पनि उपाध्यक्ष चौधरीले वडाध्यक्ष तिलकराम यादव र उनका छोरालाई पालिकाको लेखा फाट कक्ष मै कुटको थिए। सो घटनालाई समेत प्रहरीले मिलापत्रमा टुङ्गाएको थियो।

सोमबार दिउँसो समेत कर्मचारीहरुको टोली जिल्ला प्रहरी कार्यालयमा डेलीगेशन जाँदा प्रहरी उपरीक्षक पौडेलले कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने भन्दै पन्छिएका थिए। सो अवसरमा कर्मचारीहरुले प्रहरी उपरीक्षकलाई वार्दी लगाइर ड्युटीमा भएका प्रहरीलाई कसैले यसरी सार्वजनिक स्थलमा कुटेको भए तपाईँले यस्तै गर्नु हुन्थ्यो भन्ने प्रश्न तर्साएर पछि पौडेल नाजवाफ भएको कर्मचारीहरू बताउँछन्।

एउटा राष्ट्रसेवक कर्मचारी माथि कार्यालय समयमा कार्यकक्षमा हातपात हुँदा पनि यसरी प्रहरी मौन बस्न दुःखद कुरा भएको कर्मचारीहरू बताउँछन्।

प्रक्रिया पुर्‍याएर उपाध्यक्षलाई कारबाहीको दायरामा ल्याइनुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए। प्रहरी उपरीक्षक पौडेलले भने अभियुक्तमाथि कानुन अनुसार कारबाही गरिने दाबी गरे।

उता शुद्धोदन गाउँपालिकाले दोषी उपर कारबाही नभए सम्म र काम गर्ने वातावरण नभए सम्म कामकाज ठप्प रहेको विज्ञप्ति मार्फत जनाएका छन्। यस्तै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत गुह मन्त्रालयमा दोषीलाई कारबाही गर्नलागि समन्वय गरी दिन भन्दै पत्राचार समेत गरेका छन्।

गत कार्तिक १६ गते दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यक्रममा प्रवेश गरेर उपाध्यक्षले हातपात गरी गालीगलौज गरेका थिए।

वादविवादका क्रममा ज्ञवालीको टेबुलको सिसा पनि फुटेको थियो। गाडी चाहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले बताए। उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोक आदेश गर्दा बेवास्ता गरेका र काम विशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद मात्र भएको बताए। उनले आफूले टेबलमा भने हिर्काएर स्विकार गरेका छन्।

प्रकाशित: २० कार्तिक २०८० १२:२९ सोमबार