कला

भूकम्पपीडितलाई सहयोग गर्ने फिल्मकर्मीको घोषणा

फिल्मकर्मीले रुकुम-जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत फिल्मकर्मीहरूले रुकुम–जाजरकोट भूकम्प पीडितलाई राहत, उद्धार र पुनःस्थापनका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।

फिल्म ‘प्रेमगीत’ का निर्माता सन्तोष सेनले रुकुम–जाजरकोट भूकम्प प्रभावितलाई आशुषेन फिल्ममार्फत ६१ हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उनले रुकुम र जाजरकोटका मानिसहरूको कठिन घडीमा मनोरञ्जनका सामाग्री पस्कनु न्यायोचित नहुने भन्दै आइतबार सार्वजनिक गरिने भनिएको उनको आगामी फिल्म ‘बलिदान’को फस्टलुक टिजर सार्वजनिक कार्यक्रमसमेत रद्द गरिएको जानकारी गराएका छन्।

अभिनेता पल शाहले भूकम्पपीडितलाई ५० हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए। सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले टिम नेपालमार्फत् सो रकम भूकम्प पीडितसमक्ष पुर्‍याउने जनाएका थिए।

त्यस्तै, कोशी प्रदेशका चलचित्रकर्मीको साझा संस्था नेपाल चलचित्रकर्मी महासंघले रुकुम–जाजरकोट भूकम्प प्रभावितलाई ६० हजार रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। संस्थाका अध्यक्ष अरूणकुमार प्रधानले आफूहरूले ६० हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको बताउँदै बाँकी दातालाई पनि हातेमालो गर्न आग्रह गरेका छन्।

प्रकाशित: २० कार्तिक २०८० ०३:५६ सोमबार

भूकम्पपीडित सहयोग गर्ने फिल्मकर्मीको घोषणा