समाज

कपिलवस्तुका तीन पालिकाले दिने भए पाँचपाँच लाख

कपिलवस्तुका तीनवटा नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँचपाँच लाखका दरले आर्थिक सहयोग गर्ने भएका छन्। तीनवटै कार्यपालिकाको बैठक बसी नगरपालिकाको कोषबाट सो रकम दिने निर्णय गरिएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनर्स्थापना पुनः निर्माणलगायतका कार्यमा सहयोग पुर्‍याउन सो रकम दिने निर्णय भएको हो।

बाणगंगा नगरपालिकाले पाँच लाख रूपैयाँ, कपिलवस्तु नगरपालिकाले पाँच लाख र बुद्धभूमि नगरपालिकाले पाँच लाख पाँच हजार ५५ रूपैयाँ रकम सहयोग गर्ने निर्णय भएको पालिकाका प्रवक्ताले बताएका छन्।

कपिलवस्तुका नगरपालिकाहरूले भूकम्प प्रभावितलाई नगद, जिन्सी तथा खाद्यान्न सहयोगका लागि सम्पूर्ण कपिलवस्तुवासीलाई आह्वानसमेत गरेको छन्। कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले भूकम्पमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्न अपिल गरे।

आफूहरूले विपद् कोषबाट सो रकम सहयोग गर्ने निर्णय गरेको भन्दै बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले विपद्का बेला सबैले हातेमालो गर्नुपर्ने बताए। भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति भएको छ। भूकम्पमा डेढ सय बढीको मृत्यु र दुई सय बढी घाइते भएका छन्।

यस्तै भूकम्पको केन्द्रविन्दु आसपास रहेका जाजरकोट, रुकुमलगायतका जिल्लाका अधिकांश कच्ची घर भत्किएका छन्। मानवीय क्षतिसँगै पशु चौपाया र भौतिक संरचनामा क्षति पुगेको छ। उता महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलाम, कृष्णगनर नगरपालिकाका मेयर रजतप्रताप शाह, शिवराज नगरपालिका मेयर अजय थापाले समेत आफूहरूले पालिकाबाट नगद र जिन्सीसमेत सहयोग गर्ने जनाएका छन्।

प्रकाशित: २० कार्तिक २०८० ०३:१६ सोमबार

कपिलवस्तुका तीन पालिका दिने भए पाँचपाँच लाख मानवीय क्षतिसँगै पशु चौपाया र भौतिक संरचनामा क्षति