समाज

भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले पश्चिम नेपालमा आएको विनाशकारी भूकम्प पीडितहरुलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको आईतवार सिंहदरबारमा बसेको आकस्मिक बैठकले सो निर्देशन दिएको हो। त्यसैगरी बैठकले राहत, उद्धार र पुनःस्थापना कार्यलाई पनि प्रभावकारी बनाउन सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले बताए।

समितिले विपदको यस घडीमा मानवीय सहायता उपलब्ध गराउन पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय, सहयोगदाताहरुलाई अपिल पनि गरेको छ । घाइतेहरुको शिघ्र तथा निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई सचेत गराएको सभापति पन्थले बताए।

उनले भने, ‘यो बैठकले अस्ती १७ गते भएको जाजरकोट केन्द्रित विनाशकारी भूकम्पसँग सम्बन्धित विषयमा छलफल गर्‍यौं। र, यो बैठकले दिवंगत व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ। र, शोकाकुलजनहरुमा समवेदना व्यक्त गरेको छ। र, समितिले सरकारलाई विभिन्न निर्देशनहरु गरेको छ। विशेष गरेर यो घाइतेहरुको उपचार निःशुल्क र शिघ्र उपचारको लागि पनि सरकारलाई निर्देशन दिएको छ। राहत, उद्धार र पुनस्थापना कार्यहरुलाई प्रभावकारी बनाउनका लागि राज्यका सबै निकाय, तह र संयन्त्रहरुलाई प्रभावकारी परिचालन गरोस भनेर पनि निर्देशनहरु समितिले गरेको छ। र, राहत वितरण कार्य चाहीँ एकद्वार प्रणालीबाट सबैलाई निष्पक्ष हुने गरेर सबैले पाउने गरी त्यसको सुनिश्चितता हुनेगरी वितरण गर्नका लागि पनि हामीले सरकारलाई निर्देशन गरेका छौं। र, साथसाथै हामीले स्वदेशी तथा विदेशी दातृ निकायहरु, सहयोगदाताहरुलाई फेरि यो विपद्को घडीमा, यो संकटका घडीमा नेपाललाई मानवीय सहायताका लागि अपिल पनि गरेका छौं।’

प्रकाशित: १९ कार्तिक २०८० ११:२९ आइतबार

दिगो विकास तथा सुशासन समिति