समाज

भूकम्पका घाइते काठमाडौँ ल्याइने भएपछि ट्रमा र वीर स्ट्यान्डबाई

जाजरकोट भूकम्पमा गम्भीर घाइते भएकाहरुको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर तयारी अवस्थामा रहेको छ।  

भूकम्पमा परी गम्भीर घाइतेहरुको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएपछि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताललाई तयारी अवस्थामा राखिएको हो।

ट्रमा सेन्टरका प्रमुख डा.बद्री रिजालले १०/१५ जना काठमाडौँ पठाउने खबर आएको र सोही अनुसार आफूहरु तयारी अवस्थामा रहेको नागरिक न्युजलाई बताए।  

उनले भने, 'खबर आएपनि हालसम्म ट्रमा सेन्टरमा घाइतेहरु आइसकेको छैन। नेपालगञ्ज र सुर्खेतमै राखेर उपचार भइरहेको खबर आएको छ। तर, हामी स्ट्यान्डबाई छौं।'

डा.रिजालले आईसीयू, अपरेसन थिएटर, चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको बताए।

यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा भूपेन्द्रकुमार बस्नेतले पनि वीर अस्पताल भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि तयारी अवस्थामा रहेको बताए।

उनले इमर्जेन्सी, अपरेसन थिएटर र आईसीयू तयारी अवस्थामा राखिएको बताए।

प्रकाशित: १८ कार्तिक २०८० ११:१६ शनिबार

जाजरकोट भूकम्प उपचार राष्ट्रिय ट्रमा सेन्टर डा.बद्री रिजाल