समाज

रुकुमबाट ल्याइएका सात घाइते त्रिवि शिक्षण अस्पतालमा भर्ना

फाइल तस्बिर

गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रुकुमको सल्ले विमानस्थलबाट सात घाइतेसहित १५ यात्रु लिएर निगमको जहाज काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो।

निगमको एक ट्विनअटर जहाज आज बिहानैदेखि प्रभावित क्षेत्रमा उद्धार उडानमा खटिएको छ। उक्त जहाज चिकित्सक एवं स्वास्थ्य सामग्री लैजान परिचालन गरिएको छ।  

दुई ट्विनअटर जहाजमध्ये एक जहाज नेपालगञ्ज केन्द्रित भएर उद्धार कार्यमा खटिने तथा अर्को जहाजले काठमाडौँ केन्द्रित भएर सेवा दिने निगमले जनाएको छ। रासस

प्रकाशित: १८ कार्तिक २०८० १०:४१ शनिबार

भूकम्प रुकुमका सात जना थप उपचार नेपाल वायुसेवा निगम त्रिवि शिक्षण अस्पताल