समाज

राहत सामग्री बोकेर एनआरएनएको टोली जाजरकोट जाँदै

 गैरआवासीय नेपाली संघ(एनआरएनए)ले भूकम्पमा परेका पीडित परिवारलाई राहत सामग्री वितरण गर्ने भएको छ।

भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडा लगायतका सामाग्री सहयोग गर्न संघको एक टोली जाजरकोटतर्फ जान थालेको संघ महासचिव गौरीराज जोशीले जानकारी दिए।

जोशीकाअनुसार भूकम्प पीडित २५० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो। राहत वितरणका लागि संघका अध्यक्ष डा केसी, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री बोकेर जाजरकोट जान लागेको हो।संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस लगायतका सामानहरु खरिद गरेको जोशीले बताए।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।

संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८० ०८:४२ शनिबार

राहत सामग्री बोकेर एनआरएनएको टोली जाजरकोट जाँदै