समाज

भूकम्पपीडितलाई वाग्मती प्रदेशले डेढ करोड सहयोग

वाग्मती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनः स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै नागरिक समाज, विभिन्न गैरसरकारी संस्थालाई विपदको घडीमा आवश्यक सहयोग गर्न समेत आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘यस विपद्को घडीमा वाग्मती प्रदेश सरकार कर्णाली प्रदेश सरकारसँगै रहनेछ।’

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएराति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनधनको क्षति पुगेकामा बागमती प्रदेश सरकारले दुःख व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त भूकम्पबाट ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदनाका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।’

प्रकाशित: १८ कार्तिक २०८० ०६:१७ शनिबार

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ