समाज

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु

खोटाङ– खोटाङमा माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घरछेउको माछा पोखरीमा डुब्दा रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला पुइलुङका यूकेस राईको मृत्यु भएको हो। खेल्ने क्रममा सोमबार बिहान बालक माछा पोखरीमा परेको प्रहरीले जनाएको छ।

आमा बिरामी परेका कारण हजुरमाको रेखदेखमा रहेका बालक हजुरमा गाईबस्तुलाई घाँस दिन गएर फर्कँदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। ‘बच्चाको आमा बिरामी भएपछि बच्चालाई उसको हजुरमाले हेरचाह गरिरहेको रहेछ, बिहान बच्चालाई आमासँगै छाडेर हजुरमा घाँस हाल्न गएछन्,’ आफन्त भगेश्वर राईले भने, ‘घाँस हालेर फर्कँदा घरमा बच्चा नदेखिएपछि खोज्दा पोखरीमा परेको अवस्थामा भेटिएछ ।’

घटनाको विषयमा अनुसन्धानका लागि प्रहरीको टोली घट्नास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।
 

प्रकाशित: १८ मंसिर २०७४ ०६:३२ सोमबार

माछापोखरीमा डुबेर १८ महिने बालकको मृत्यु