दर्ता गरेर सञ्चालन गरे पनि अवैध रुपमा सुन–चाँदीको कारोबार गर्दै आएको विराटनगरको पशुपति ज्वेलर्समा प्रहरी छापा मार्दा ठूलो परिणाममा गरगहना फेला पारेको छ।
अवैध रुपमा सुन–चाँदीको कारोबार हुँदै गरेको भन्ने सूचनाका आधारमा बिहीबार कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले छापा हानेको हो।
विराटनगर–११ पिचरामा रहेको पशुपति ज्वेलर्समा छापा हान्दा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको बताउँदै, मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘अवैध रुपमा कारोबार हुँदै आएको सूचनाका आधारमा ज्वेलर्समा छापा हानेका हौं। छापा हानेर त्यहाँ रहेको सम्पूर्ण सुन–चाँदीका सामग्रीहरु र व्यक्तिलाई नियन्त्रणमा लिएर विराटनगर भन्सार लगिएको छ। थप अनुसन्धान भइरहेको छ।’
ज्वेलर्सका सम्पूर्ण सामग्रीसहित सञ्चालकलाई विराटनगर भन्सार कार्यालय लगेर थप विवरण लिने काम भइरहेको हुँदा अहिले केही खुली नसकेको एसपी पोखरेलले बताए।
उनले सुन–चाँदीका गरगहना तथा अन्य सामग्री कति, कहाँबाट ल्याएको केही नखुलेको र अनुसन्धानकै क्रममा रहेको बताए। ज्वेलर्सबाट बरामद भएका सामान गन्ने र तौल लिन काम हुँदै छ।
ज्वेलर्सका सञ्चालक विश्वजीत जानाले भारतबाट भन्सार छली गरेर ल्याएर गरगहना एवं सामग्री बिक्री गर्ने गरेको पाइएपछि छापा हानेको बताउँदै, प्रहरी स्रोतले भन्यो, ‘ज्वेलर्समा ठूलो परिणाममा चाँदी तथा सुनबाट बनाइएका पाउजू, ब्रासलेट, करुवा, थाली, औंठी, दियो, लोटा, भगवानका मूर्ति, टिकादानी लगायतका सामान रहेको छ। बरामद भएका गरगहना र सामग्री करिब २० केजी बढी हुनसक्छ। परिणाम यकिन भइसकेको छैन।’ बरामद गरिएको सामाग्रीको कुनै पनि बिलविजक ज्वेलर्स सञ्चालक देखाउन सकेनन्।
भारतको पश्चिम बंगालको मजलिसपुरस्थित पश्चिम मेदेनीपुर घर भई विराटनगर–११ पिचरा रोडमा पशुपति ज्वेलर्स सञ्चालन गर्दै आएका विश्वजीत जानाले भन्सार छली गरेर ल्याइएको तयारी गरगहना झापा, मोरङ र सुनसरीका विभिन्न ज्वेलर्समा दिने गरेको प्रहरी स्रोतले बतायो। उनका अनुसार जानाले अन्य स्थानको भन्दा बढी विराटनगरका विभिन्न ज्वेलर्स दिने गरेको खुलेको छ।
प्रकाशित: १६ कार्तिक २०८० १५:०९ बिहीबार