समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

दसैं अवधिमा दुर्घटनाबाट ९ जनाको मृत्यु

घटस्थापनादेखि पूर्णिमासम्म प्रदेशभर भएका सवारी दुर्घटनामा ९ को मृत्यु हुँदा ११ जना घाइते भएका छन्। ९ जिल्ला मध्ये कैलालीमा सबैभन्दा धेरै दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको भनाइ छ।

लगानी सम्मेलनको तयारी

आगामी फागुनभित्र लगानी सम्मेलन गर्ने लक्ष्यसहित प्रदेश योजना आयोगले आयोजनाहरूको विवरणसहित प्रस्तावना तयार गर्न कार्यदल गठन गरेको छ। उपाध्यक्ष योगेन्द्रबहादुर शाहीको नेतृत्वमा पूर्वाधार, सदस्य ऋषि खनालको नेतृत्वमा कृषि, पर्यटन, जडीबुटी र सदस्य जीतबहादुर शाहको नेतृत्वमा सामाजिक विकास गरी तीन वटा कार्यदल गठन गरेको हो।

संस्कृत विश्वविद्यालयलाई अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्छु

नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन गर्ने अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भनाइ छ। दाङको घोराहीमा नेपाल ज्योतिष परिषद्को १८ औं राष्ट्रिय ज्योतिष वास्तु तथा अध्यात्म सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसो भनेकी हुन्।  

जेठोबुढो धानको समर्थन मूल्यमा प्रतिकेजी ५ रुपैयाँले वृद्धि

पोखरा महानगरपालिकाले जेठोबुढो धानको समर्थन मूल्यमा प्रतिकेजी ५ रुपैयाँको वृद्धि गरेको छ। किसानलाई राहत स्वरूप धानको समर्थन मूल्यमा गरिएको वृद्धि गरिएको महानगर कृषि विभाग प्रमुख मनोहरी कडरियाको भनाइ छ।

खेलकुद कोष वृद्धिका लागि खेल महोत्सव

औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा मकवानपुर जिल्ला खेलकुद विकास समितिले पुष ५ देखि १७ गतेसम्म वृहत खेलकुद महोत्सव आयोजना गर्दै छ। महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, राष्ट्रिय भलिबल, महिला पुरुष दुवै विधा, प्रदेशस्तरीय कबड्डीका साथै कराँते, आर्चारी, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन हुने खेलकुद विकास समिति अध्यक्ष भेष खड्कीको भनाइ छ।

सीमा स्तम्भबाट रंगरोगन कार्यको शुभारम्भ

सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रूपमा धनुषाको मुखायाँपट्टी मुसहरनियाँ गाउँपालिका–६ जटहीस्थित २८५ नम्बर सहायक सीमा स्तम्भबाट रंगरोगन कार्यको शुभारम्भ गरेको छ। बिजोर नम्बरका नेपाल र जोर नम्बरका सीमा स्तम्भ भारतले मर्मत गर्ने समझदारी भएको छ। चार हजार बढी सीमा स्तम्भ रहेको मधेश प्रदेशमा पहिलो चरणमा एक हजार बढी स्तम्भ मर्मत सम्भार तथा रंगरोगन गरिने प्रदेशका सशस्त्र प्रहरी प्रमुख दीपेन्द्र साहको भनाइ छ।

ज्वेलर्सबाट अवैध गरगहना बरामद

दर्ता गरेपनि अवैध रूपमा सुन–चाँदीको कारोबार गर्दै आएको विराटनगर–११ पिचरामा रहेको पशुपति ज्वेलर्समा छापा प्रहरीले छापा मारेको छ। प्रदेश प्रहरी, जिल्ला प्रहरी मोरङ, वडा प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीको छापामा सुन–चाँदीबाट बनेका अवैध सामग्री र गरगहना बरामद भएको मोरङ प्रहरीको भनाइ छ।

प्रकाशित: १६ कार्तिक २०८० १३:३३ बिहीबार

सात प्रदेशका सात समाचार