समाज

भारतीकाे मुद्दामा आज सुनुवाइ, कैद मिनाहामा के फैसला होला?

सर्वोच्च अदालतले भारती शेर्पाको मुद्दामा आज निर्णय सुनाउने भएको छ। रिगल ढकाललाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयमा राष्ट्रपतिले दिएको कैद माफी मिनाहा खारेज गर्ने वा कायम हुने भन्ने सर्वोच्चले आजै फैसला सुनाउने भएको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले निसु (निर्णय सुनाउने) आदेश बुधबार गरेको हो।

फौजदारी मुद्दामा जन्मकैदको कैद माफी घटाउने सरकारको निर्णयविरुद्ध शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्। सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भोग्दा भोग्दै गरेका ढकाललाई कैद माफी मिनाहा दिने निर्णयविरुद्ध परेको मुद्दामा कानुनी जटिलता देखाउँदै यसअघि नै पूर्ण इजलासमा पठाउने आदेश भएको थियो।

नेपालगन्जमा रिगल ढकालको समूहले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले असोज १४ मा माफी मिनाहा बदरको माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्। उनी न्याय माग्दै सरकारको निर्णयविरुद्ध दोस्रो पटक माइतीघर मण्डलमा रिले अनसनसमेत बसिरहेकी छिन्। बडादसैंअगाडि देखि नै भारतीले रिले अनसन थालेकी थिइन्।

बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैैसलाको सजाय भोगिरहेका ढकाललाई गणतन्त्र दिवसको अवसर पारी असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफी मिनाहा गरेका थिए। ढकालले सर्वोच्च अदालतमा सजाय कम गर्न माग गर्दै पुनरावेदन निवेदन समेत दिएका थिए।

मुलुकी संहिता लागु हुनुअघि साविकको कारागार नियमावलीबमोजिम कुनै पनि जेलमा रहेको व्यक्तिको असल चालचलनको आधारमा ४० प्रतिशत कैद भुक्तान गरिसकेको व्यक्तिलाई कैद मिनाहा गरिदिनु भन्ने सर्वोेच्चले यसअघि फैसला गरेको थियो। यसअघिका यिनै फैसलालाई आधार मान्दै रिगललाई कैद कट्टा गरेको सरकारको जिकिर छ।

२०७२ साल असार २८ मा नेपालगन्ज ८ मा पर्ने सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक बस्ने २९ वर्षीय चेतन मानन्धरलाई ढकालसहित १५ जनाको समूहले खुँडा प्रहार गरी हत्या गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०८० ०२:०२ बिहीबार

सर्वोच्च अदालत भारती शेर्पाको मुद्दा