समाज

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

तस्बिर: रासस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तरक्रिया गरेका थिए।

गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा गुटेरेसले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असर र त्यसबाट बँच्न खेल्नुपर्ने भूमिका र काम के के हुनसक्छन् भन्नेबारे सहभागी स्थानीयहरुसँग राय लिएका थिए। गाउँपालिका अध्यक्ष मिङमाछिरिङ शेर्पाका अनुसार स्थानीयहरुले जलवायु परिवर्तनका कारण पहिलाजस्तो हिउँ नपर्ने, हिउँ पग्लने क्रम बढेको तथा हिमतालहरु फुट्नेलगायत समस्या सुनाउँदै बचाउका लागि संयुक्त राष्ट्र संघले पहल गर्नुपर्ने सुझाएका थिए। 

स्थानीयहरुको कुरा सुनेपछि महासचिव गुटेरेसले जलवायु परिवर्तनले नेपाल मात्र नभएर विश्वभर समस्या निम्त्याईरहेको बताउँदै त्यसको समाधान गर्न पनि विश्वका सबै राष्ट्रहरु मिलेर मात्रै संभव हुने बताएका थिए। ‘जलवायु परिवर्तन नेपाल मात्र नभएर संसारकै साझा समस्या हो’ गुटेरेसलाई उद्धृत गर्दै अध्यक्ष शेर्पाले भने ‘त्यसैले त्यसको न्यूनिकरण गर्न विश्वका सबै मुलुकहरु एकजुट भएर साझा कार्यक्रमसहित लाग्नु पर्छ।’ 

गुटेरेस नेपाली सेनाको विशेष हेलिकप्टरमार्फत विहान ८ः३० बजे सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका ४ स्थित स्याङबोचेमा अवतरण गरेका थिए। स्याङबोचेको एभरेष्ट भ्यु होटलमा आयोजित जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रममा सहभागी महासचिव गुटेरेसले डेढघण्टा समय बिताएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले जानकारी दिए। 

स्याङबोचे समुद्री सतहदेखि ३ हजार ८ सय ८० मिटर उचाईमा पर्छ। अध्यक्ष शेर्पाका अनुसार कार्यक्रम सकेर केहीबेर हिमाली दृश्यअवलोकन गरी आनन्द लिएका गुटेरेस विहान ११ः३० बजे सोही हेलिकप्टरमार्फत राजधानी फर्केका छन्। 

प्रकाशित: १३ कार्तिक २०८० ०६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App