समाज

भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्।

लुक्ला एयरपोर्टमा बिहान काठमाडौँका लागि उडान तय भएको तर, भिभिआईपी मोमेन्ट हो भनेर उडान नै एक डेढ घन्टासम्म रोकिएको एकजना यात्रुले नाम खुलाउने शर्तमा नागरिक न्युजलाई बताए।  

आज बिहान काठमाडौँबाट संयुक्त राष्ट्र सङ्घका महासचिवसहितको टोली सोलुखुम्बु भ्रमणमा गएको बेला लुक्ला एयरपोर्टको नियमित उडान प्रभावित बनेको थियो।  

भिभिआईपी मोमेन्टका कारण नियमित उडान किन रोकिएको भन्ने प्रश्नमा लुक्ला विमानस्थलका प्रमुख उमेश पन्थीले केही समय मात्रै उडान प्रभावित बनेको बताए।

उनले बिहान काठमाडौँबाट विशिष्ट अतिथिहरू आउने भएका कारणले केही समय उडान प्रभावित बनेको बताए। हाल भने लुक्लाको नियमित उडान सुचारु रहेको पनि उनले बताए।

प्रकाशित: १३ कार्तिक २०८० ०३:२० सोमबार

लुक्ला एयरपोर्ट नियमित उडान यात्रुहरू अलपत्र