समाज

सुनथरालीमा फेरि कहिले बस्ला ‘चिलगाडी’

कालिकोटको सुनथराली विमानस्थल।

सात वर्षअघि कालिकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान सफल हुँदा स्थानीय मनबहादुर विष्टका आँखा खुसीले रसाएका थिए। विमानस्थल बनाउन खटिएका धादिङको जोगीमाराका १७ जनासहित ३५ जनाको चिहानमाथि ‘चिलगाडी’ बस्ला बन्ने कल्पना उनले गरेका थिएनन्।

‘मेरा लागि यो विमानस्थलसँगको साइनो गज्जबको छ, यहाँ काम गर्दै गर्दा सेनाले हेलिकोप्टरबाट खसालेको बमको छर्रा लागेर घाइते भएँ’, उनले भने, ‘पछि माओवादी लडाकु बनेर यहींबाट सेनाको प्रतिकार गरें, सेनाले हत्या गरेकालाई यही विमास्थलभित्र चिहान खनेर गाड्ने काम पनि गरें, त्यही चिहानमाथि चिलगाडी बसेको आफ्नै आँखाले देख्दा मलाई कस्तो  भयो होला?’

२०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा सुनथराली विमानस्थलमा परीक्षण उडान हुँदै थियो। सुनथरालीमा ‘चिलगाडी’ आउने खबरले नजिकका गाउँबाट हजारौं स्थानीय भेला भएका थिए।

अवतरणसँगै हजारौं मानिसले तारा एयरको विमान घेरे। यहाँका नागरिकले नजिकबाट विमान नियाल्न पाए। विमान उडाएर ल्याउने चालक दलका सदस्य र सँगै गएका यात्रुलाई फूलमालाले स्वागत गरे।

विष्ट परीक्षण उडान सफल भएकाले नियमित चिलगाडी आउने आशामा थिए। सात वर्ष भयो सुनथरालीमा चिलगाडी नबसेको। २०७४ र त्यसपछि भएका निर्वाचनमा राजनीतिक दलहरूको प्रमुख चुनावी अजेन्डा विमानस्थल सञ्चालन गर्ने हुन्छ।

कालिकोटबाट गठबन्धन दलका तर्फबाट २०७९ मंसिरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेन्द्रबहादुर शाहीले आफ्नो चुनावी अजेन्डाको पहिलो बुँदामा पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख थियो।

चुनावका बेला गरेको वाचाअनुसार नियमित नभए पनि दोस्रोपटक परीक्षण उडान आफू निर्वाचित भएको पहिलो वर्षमै गर्ने लक्ष्य शाहीको छ। पटक–पटक परीक्षण उडानका लागि उनले प्रधानमन्त्रीदेखि सरोकारवालासँग भेटे।

परीक्षण उडानको विभिन्न मिति उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरे। अन्तिमपटक भदौ १३ गते सुनथराली विमानस्थलमा परीक्षण उडान हुने कुरा थियो।

अन्तिम समयमा आएर त्यो पनि स्थगित भएपछि उनले फेसबुकमार्फत परीक्षण उडान गर्न नसकेकोमा ‘आफू निकै लज्जित’ भएको लेखेका छन्।

‘प्रधानमन्त्रीको चाहना र कालिकोटका जनताको प्रतीक्षा थियो, ३८ बर्से इतिहास बोकेको सुनथराली विमानस्थलमा जहाज देखियोस्, कोटबाडाको आकाशमा जहाज उडोस्’, उनले लेखेका छन्, ‘तर अफसोच अन्तिम घडीमा भदौ १३ गतेको त्यो सपना पूरा भएन।’

उनले सम्पूर्ण तयारी पूरा हुँदा पनि परीक्षण उडान गर्न नसकेकोमा स्थानीयसँग क्षमा पनि मागेका छन्। शाहीले चैतयता सुनथराली विमानस्थलमा पटक–पटक जहाज परीक्षण उडान गर्ने बताउँदै आएका छन्।

शाहीले फेसबुकमा स्टेटस लेखेको केहीबेरमै उनकै पार्टीबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका सुदन किरातीले पनि स्टेटस लेखे। उनले आफ्ना बुवाको निधनका साथै अन्य तयारी पनि पूरा नभएकाले भदौ १३ गते तय गरिएको परीक्षण उडान स्थगन गरिएको लेखे।

भदौ १३ को सट्टा असोज १३ गते कालिकोटको सुनथराली विमानस्थलसँगै डोल्पाको मसिनेचौर विमानस्थलको एकै दिन परीक्षण उडान गर्ने जानकारी फेसबुकमार्फत दिए। मन्त्रीले आफ्नो फेसबुकमार्फत गरेको वाचा पनि पूरा गर्न सकेनन्।

स्थानीयहरू भने एकपटक परीक्षण उडान भइसकेकाले फेरि कतिपटक परीक्षण उडान गर्ने हो भन्दै प्रश्न गरिरहेका छन्।

‘सात वर्षअघि नै परीक्षण उडान सफल भइसकेको हो, फेरि परीक्षण उडान मात्रै गरेर जनताका आँखामा छारो हाल्न पाइन्न’, मदन ऐडीले भने, ‘नियमित उडानमा पहल गर्न आवश्यक छ।’

नेपाली कांग्रेसका नेता दमन शाहीले नियमित उडानतर्फ सबैको पहल हुनुपर्ने बताए। २०७३ मा परीक्षण उडान हुँदा उनी तत्कालीन मन्त्रीको सचिवालयमा कार्यरत थिए। परीक्षण उडानमा उनी पनि सँगै थिए। परीक्षण उडानको फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘अब सबैको एउटै बुझाइ छ–नियमित उडान हुने गरी जहाज अवतरण गर्नेतर्फ लागौं।’

प्रकाशित: १३ कार्तिक २०८० ०१:३९ सोमबार

कालिकोटको सुनथराली विमानस्थल नेपाली कांग्रेसका नेता दमन शाही