तनहुँको देवघाट गाउँपालिका–५ देउपुरकी कल्पना थापामगरले चार रोपनीमा कोदो लगाएकी छिन्। यतिखेर कोदो पाक्न लागेको छ। यद्यपि थापामगरलाई पुरै फल भित्र्याउन पाइएला भन्ने आस छैन। उनलाई बाँदरले गर्दा कोदो खेती जोगाउनै मुस्किल छ।
‘बाँदरको आतंकले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने,’ थापा मगरले कोदो देखाउँदै भनिन्, ‘आधा बाँदरलाई आधा आफूलाई हो।’
उनले अर्काको बारीमा उब्जेको आधा दिने गरी खेती गर्छिन्। पछिल्ला वर्ष बाँदरले पहिलाभन्दा धेरै दुःख दिन थालेको उनले बताइन्।
‘तनहुँको छिपछिपेबाट १८ वर्ष भयो देवघाट झरेको। झर्ने बेलामा बाँदर कम थियो,’ उनले भनिन्, ‘आजभोलि जति गरे पनि बाँदरबाट खेती जोगाउनै सकिँदैन।’
खेती पाक्ने बेलामा बिहानदेखि बेलुका सम्म बाँदरलाई नै हेर्नुपर्ने उनले बताइन्। ‘कोदोमा त क्षति कम गर्छ। बगाल आयो भने मकै त एकै छिनमा सक्छ,’ उनले भनिन्, ‘अर्काको बारीमा खेती लगाएर बाँदरलाई जोगाउने की आफुँले खाने।’
गत वर्ष लगाएको मकै इन्दिरा सापकोटाले भित्र्याउन पाइनन्। अहिले एक रोपनी बारीमा कोदो र बोडी छन्। यतिखेर पनि बाँदर र मृगलाई खेती जोगाउन नै मुस्किल छ।
‘मृगले सागसब्जी केही रहन दिँदैन। कलिलैमा मृगले मुन्टा मुन्टा खाइदिन्छ। बाँदरले पाक्न लागेको बोलामा आएर खाइदिन्छ,’ उनले भनिन् ‘जंगली जनावरले हैरान पार्छन्। बारी बाँझो राख्न पनि भएन। गरेर खान पनि पाइँदैन।’
एक दशक अघिसम्म देवघाटमा बाँदर आतङ्क थिएन। पशुपतिका बाँदर ल्याएर छोडेपछि यहाँ आतङ्क बढेको स्थानीयहरु बताउँछन्।
‘टाढाको मान्छेले फलफूल किनेर दिन्छ। उनीहरुलाई त रमाइलो लाग्छ होला। त्यही भएर पनि यता आउने गरेको छ, दिलकुमारी मगरले भनिन् ‘यहाँ हामीलाई सताएको छ। मान्छेसँग भन्दा पनि बाँदरसँग डराउनुपर्छ।’
बाँदरले खेतीपाती मात्र नभई घर–घरमा सुतिरहेको अवस्थामा वृद्ध वृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको थापा बताउँछिन्। उनले भनिन्, ‘आधा खेती त बाँदरलाई नै हो। आश्रममा बस्ने आमाहरुलाई बाँदरले टोकेर अधिकांशलाई सुई (भ्याक्सिन) लगाएको छ।’ उनले बाँदर आतंक रोक्न समेत माग गरेकी छन्।
बाँदरको त्रास बढ्दै गएकोले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन्। बढी मात्रामा वृद्ध वृद्धा र केटाकेटीलाई बाँदरले झम्टिने गरेका छन्। यहाँका घरमा लगाइएका जस्तापाता पनि बाँदर उफ्रेर एक वर्षमै पानी चुहिने बनाइदिन्छन्।
यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो। त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजना समेत बनेको थियो। तर, सफल नभएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिलबहादुर गुरुङ बताउँछन्।
‘गाउँपालिकाबाट दुई वर्ष अघि आहार खानपिनका लागि बाँदर पार्क बनाउने निर्णय भएको थियो। त्यसले पनि भएन। बाहिर लगेर व्यवस्थित गर्नुपर्यो भनेर केही बाँदर लगियो। त्यो पनि भएन,’ उनले भने ‘बाँदर नियन्त्रणको काम केन्द्रबाट नै पहल गर्नुपर्छ।’
देवघाट क्षेत्रमा कमलादेवी सामुदायिक वन, सुन झाक्रि सामुदायिक वन, गणदेवि सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वन लगायतका ११ वटा सामुदायिक वन छन्।
यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ। यी बाँदरलाई गाउँ पस्न नदिनको लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङ बताउँछन्।
‘मैले बाँदर रोक्न केही विकल्प देखेको छैन। कि तारबार लगाएर निश्चित ठाउँमा राख्नुपर्यो। होइन भने सबै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्नुपर्छ,’ उनले भने ‘हामीले त फलफूलका बिरुवा रोप्न सुरु पनि गरेका छौँ।’
१० कठ्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उनले बताए। यसलाई विस्तार गर्ने उनले बताए।
प्रकाशित: १२ कार्तिक २०८० १२:५३ आइतबार