समाज

चन्दाले बन्यो कलात्मक मन्दिर

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ बासिडोलवासीले चन्दा उठाएर मन्दिर निर्माण गरेका छन्। कलात्मक पित्तलको छाना राखेर यहाँ सुन्दर गणेशको मन्दिर बनाइएको हो।

मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रूपमा मात्रै बनाउने योजना थियो। योजनाअनुसार पाँच हजार भन्दामाथि चन्दा दिनेको नाम शिलापत्रमा लेखिने योजना थियो। तर पछि चन्दा दिनेहरूको लहर नै चलेपछि सामान्य मात्रै नभई कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी गराए। त्यसकारण यहाँ साधारण मन्दिरको साटो जीवन्त साहित्य सम्पदाका रूपमा आकर्षक मन्दिर छ।

सल्लाहकार तुल्सीराम लाखेमरूका अनुसार मन्दिर निर्माण सम्पन्न गरी प्राण प्रतिस्ठापन कार्यक्रमसमेत सम्पन्न भएको छ। उनले उक्त मन्दिर निर्माण कार्यका लागि आर्थिक तथा भौतिक सहयोग गर्नेहरूको लर्काे देखेर सबैजनाले खुसी भएको पनि स्मरण गरे। साथै उनले सहयोगी सम्पूर्ण दाता र विभिन्न संघसंस्थालाई पनि धन्यवाद ज्ञापन गरे।

यसअघि बस्तीका सम्पूर्ण बासिन्दाको सक्रियतामा २०७९ फागुन १३ गते एक भेला गरिएको थियो। भेलाले सूर्यविनायक नगरपालिका ८ बासिडोल चाइनिज इँटाभट्टाको पूर्व कम्पाउन्डसँगै श्रीगणेशको मन्दिर निर्माण गर्ने निर्णय भएको थियो।

योजनाअनुसार २०७९ चैत १६ गते टोलबासीमध्ये ज्येष्ठ नागरिक सानुभाइ गोसाईंबाट शिलान्यास गरिएको थियो। जग राखेर काम थालेपछि टोलबासी खुस भएका थिए। यसअनुसार साधारण झिँगटीको छानो हालेर मन्दिर बनाउने र पाँच हजारभन्दा माथि सहयोग गर्नेको नाम शिलापत्रमा लेख्ने पदाधिकारीले निर्णय गरेका थिए।

प्रकाशित: १२ कार्तिक २०८० ०३:३४ आइतबार

चन्दाले बन्यो कलात्मक मन्दिर सुन्दर गणेशको मन्दिर