समाज

निर्वाचनका लागि ६८ हजार सेना परिचालित

काठमाडौं- ५३ कारागार र २३ विमानस्थलको सुरक्षाका लागि नेपाली सेना तैनाथ भएका छन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चुनावका समयमा प्राप्त विमानस्थल तथा कारागारको सुरक्षा जिम्मेवारीअनुसार ती क्षेत्रमा सेना तैनाथ भएको हो ।
चुनावमा तेस्रो घेराको सुरक्षा जिम्मेवारी प्राप्त गरेको सेनाले देशभर ६८ हजार सैनिक परिचालन गरेको छ । तेस्रो घेराको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएअनुसार संवेदनशीलतालाई दृष्टिगत गरी गुल्म (करिब २ सय) तथा से.मु.स्तर (प्लाटुन करिब ८०) को बेस स्थापना गरी सुरक्षा प्रदान गर्ने कार्यमा नेपाली सेना खटिएको छ ।
सेनाले कात्र्तिक २२ गतेदेखि मंसिर ८ गतेसम्म ३३ स्थानको शंकास्पद वस्तुको सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ ।
सेनाले पाँचथरको फिदिम, फाकफोकथुम र हिलिहाङ्ग, जाजरकोटको चौरजहारी, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रविसे, रोल्पाको भदौरे, रामेछापको खाडाँदेवी, ओखलढुङ्गाको मोलुङ, लम्जुङको बेसीसहर, पर्वतको कुश्मा, धादिङको नीलकण्ठ, गजुरी, गल्छी र घाटबेसी, बाग्लुङको बढीगाउँ र निशिखोला, अछामको साँफेबगर, संखुवासभाको धर्मदेवी, रूपन्देहीको बुटवलको शंकास्पद वस्तु निस्क्रिय पारेको जनाएको छ ।
त्यसैगरी रौतहटको गुजरा र कटानी, रसुवाको उत्तरगया, चितवनको भरतपुर, खोटाङको हलेसी, गोर्खाको गण्डकी र सिरानुचोक, नुवाकोटको शिवपुरी र विदुर, दाङको शान्तिनगर, कालिकोटको छाती, नवलपरासीको देवचुली र दोलखाको भिमेश्वर नगरपालिकामा शंकास्पद वस्तु, बम तथा घरेलु विस्फोटक पदार्थ सुरक्षित ढंगले डिस्पोज गरेको जनाएको छ ।
नेपाली सेनाले चुनावी मतपत्र छपाइको सुरक्षा र ढुवानीका लागि प्राप्त गरेको जिम्मेवारीअनुसार काम भएको जनाएको छ । दोस्रो चरणमा चुनाव हुने अधिकांश जिल्लाका मतपत्र ढुवानीका काम पनि सकिएको जनाएको छ ।

 

प्रकाशित: १० मंसिर २०७४ ०३:११ आइतबार

निर्वाचनका लागि ६८ सेना परिचालित