समाज

विप्लव माअाेवादीका कार्यवाहक अध्यक्ष पक्राउ

रसुवा – नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रसुवाका कार्यवाहक अध्यक्ष पक्राउ परेका छन् । 
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा पार्टीका कार्यवाहक अध्यक्ष लेखनाथ लामिछानेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। 

निर्वाचन आउन ४ दिन मात्र बाँकी रहँदा सुरक्षालाई खलल पार्ने किसिमको क्रियाकलाप गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। 

कालिका गाउँपालिका–३ बस्ने लामिछानेलाई कालिकास्थानबाट पक्राउ गरिएको हो । सोमबार उत्तरगया गाउँपालिका–५ लहरेपौवामा लोकतान्त्रिक गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यको घर नजिकै सुतली बम राख्ने कार्यमा समेत उनको संलग्नता हुनसक्ने प्रहरी आशंका छ। 

उनलाई सार्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत कुमार थापा क्षेत्रीले बताए । जिल्लामा निर्वाचन विरोधी गतिविधि हुन नदिनका लागि प्रहरीले निगरानी तथा गस्ती बढाएको छ।  

प्रकाशित: ६ मंसिर २०७४ ०८:३२ बुधबार

विप्लव माअाेवादीका कार्यवाहक अध्यक्ष पक्राउ