समाज

वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध: उपचार गर्न आर्थिक अभाव

बुद्धशान्ति गाउँपालिका-६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो। तैपनि बुद्धको आत्मविश्वास डगमगाएन। रोगले गाँज्दै लग्यो। उनका कम्मरमुनि दुवै खुट्टा चल्न छाडे। जीवनको धरा नै हल्लाउने यी दुःखद् अवस्थाबाट उनी विचलित भएन। वैशाखी र आत्मविश्वासमा टेकेर आफ्नै खुट्टामा उभिने क्रममा उनी गाउँमा कपाल काट्ने शैलुन खोल्न सफल भए।

शारीरिक अपाङ्गता र बोन टिबीसँग जुधिरहेका उनले चार वर्षदेखि बुद्धशान्ति-६ स्थित आफ्नै गाउँ सन्तपुरमा शैलुन खोलेका छन्। उनी दैनिक १५ देखि २० जनासम्म ग्राहकको कपाल वैशाखी टेकेरै काट्छन्। तामाङको दाजु पनि शारीरिक अपाङ्ग छन्। परिवार धान्नुपर्ने जिम्मेवारी पनि तामाङकै काँधमा छ।

अपाङ्ग र बिरामी भएर पनि स्वावलम्बनका लागि तामाङले देखाएको साहस र सीप देखेर मानिस चकित छन्।

‘धेरै अपाङ्ग सडकमा मागेर जीवन धान्न बाध्य भइरहेको देखिन्छ’, बुद्धशान्ति वडा नं ६ का अध्यक्ष शिवराज पौडेल भन्छन्, ‘तर, तामाङले सिप सिकेर आफ्नै पौरखमा जिउने जुन साहस देखाउनुभएको छ, त्यसको जति प्रशंसा गरे पनि कम नै हुन्छ।’

२०४० सालमा झापाकै शान्तिनगरमा जन्मिएको तामाङलाई २०६३ सालमा क्षयरोग पुष्टि भएको थियो। खुट्टाको हड्डीमा पीडा हुन थालेपछि जँचाउन धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाँदा चिकित्सकले क्षयरोग लागेको जानकारी दिएका थिए। गरिबीका कारण कक्षा ४ भन्दा बढी शिक्षा उनले लिन पाएनन्। उनको विवाह भएको छैन।

‘रोग लागिहाल्यो भनेर मैले हरेस खाइन’, उनले भने, ‘उपचारसँगै जिउनका लागि उपाय खोज्न थालें। सुरुमा मोबाइल र टिभी बनाउन सिकें। केही समयपछि कपाल काट्न सिकें।’

अहिले आफ्नै गाउँ सन्तपुर चोकमा उनको व्यवस्थित शैलुन छ।

कम्मरमुनिका अङ्ग नचले पनि उनको हात र दिमाग तेजसँग चल्छ। वडा कार्यालयले शैलुन खोल्न ७५ हजार रुपैयाँ सहयोग गरेको वडाध्यक्ष पौडेलले बताए।

वडा कार्यालयले दिएको सहयोगमा ऋण थपेर व्यवस्थित शैलुन सञ्चालन गर्न सकेको तामाङले बताए।

स्थानीय शिक्षक योेगेन्द्र चम्लागाईंले कपाल काट्ने राम्रो सिप भएकाले तामाङको शैलुनमा गाउँका बसै मानिस कपाल काट्न आउने गरेको बताए।

‘अपाङ्ग र बिरामी हुनुहुन्छ, जीविकाका लागि मद्दत पुगोस् भनेर स्थानीयले सहानुभूति पनि राख्नुभएको छ’, उनले भने।

सुरुमा बुद्धले गाउँमा टिनको बोरा लगाएर सानो टहरो हालेर शैलुन सुरु गरेका थिए। अव्यवस्थित रूपमा वैशाखी टेकेरै कपाल काटेको दयनीय अवस्था देखेर नै वडा कार्यालयले उनलाई व्यवस्थित शैलुन बनाउन आर्थिक सहयोग गरेको हो।

‘अपाङ्ग भएर बाटामा हात फैलाउन मलाई मन लागेन, त्यही भएर कपाल काट्ने पेसा सुरु गरेको हुँ, गाउँका उदाहरणीय युवाका रूपमा पहिचान बनाएका तामाङले भने, ‘खान र लाउन यही शैलुनको आम्दानीले पुगेकै छ। बोन टिबीको राम्रो उपचार गर्न आर्थिक अभाव छ। कतैबाट उपचारको सहयोग पाए लिने थिएँ।’

प्रकाशित: ६ कार्तिक २०८० ०४:०२ सोमबार

उपचार गर्न आर्थिक अभाव शारीरिक अपाङ्गता र बोन टिबी