समाज

खसीबोका बेचेर दसैँ खर्चको जोहो

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कोयलघारीका डोप बहादुर गुरुङलाई विगतको वर्षजस्तै यस वर्ष पनि दसैँ खर्चको जोहो गर्ने चिन्ता छैन्। घरमा पालेका खसी बोकाले दसैँ खर्च टर्नेमा उनी ढुक्क छन्। घरमा पालेका दश वटा खसी बोका बिक्रि गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेका छन्। खसीबोका बिक्रिबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरेका छन्। उनले चार दिन अगाडि घरबाट नै खसी बोका बिक्रि गरेका हुन्। ‘यहाँबाट बजार लगेर पनि बेच्छन्। बजारमा तानातान गर्नुभन्दा घरमै आएको बेला व्यापारीलाई हचुवामा बेचेँ’–उनले भने।

अझै गुरुङका खोरमा डेढ दर्जन बाख्रा छन्। अब अर्को दसैँमा खसी बोका उत्पादन गर्ने तयारीमा गुरुङ छन्। ‘दशैँ बाहेक अघिपछि हामीले बेच्दैनौँ। खेती किसानी नै गरेर जिवन निर्वाह गर्ने हो,’ बाख्रा चराउन जंगल निस्कन लागेका गुरुङले भने ‘पछिल्ला वर्षका दसैँ खसी बोका बेचेर नै पुग्ने गरेको छ।’

कोयलघारीकी विरमायाँ गुरुङ पनि आइतबार नारायणगढ खसी लगेर बेच्ने तयारीमा छिन्। यसपालि दसैँ खर्च जोहो गर्न चार वटा खसी बेच्ने उनले बताइन्। ‘३० वटा बाख्रा छन्। चार वटा पाठा बेच्न भोलि(आइतबार) नारायणघाट जाने हो,’ बाख्रा चराउन लिएर जंगल तर्फ हिडेकी गुरुङले भनिन् ‘छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो।’ प्रत्येक वर्ष खसी बोका बेचर दसैँ मनाउने गरेको उनले सुनाइन्।

खानीगाउँ र कुलयघारीमा १०८ घरधुरी छन्। अधिकांशको घरमा कम्तिामा २० वटा बाख्रा छन्। गाईभैसी कम पाल्दै आएका उनीहरुको मुख्य आम्दानी बाख्रा नै हो। अधिकांशले दसैँमा खसीबोका बेचेर मनाउने गर्दछन्। कोयलघारीकै च्यान्टि गुरुङले पनि चार वटा खसी बेचिसकेकी छन्। यसबाट थप थाप गरेर दसैँ मनाउने तयारीमा रहेको उनले बताइन्। ‘खोरमा २० वटा बाख्रा छन्। चार वटा २० हजारमा बेचियो,’ बाख्रालाई घाँस हाल्दै गर्दा भेटिएकी च्यान्टि मायाँले भनिन् ‘यतिले त घरखर्च कहाँ पुग्छ र थप थाप गरेर दसैँ मनाउनु पर्ला।’ उनले आफ्नो घरका लागि पनि खसी जोहो गरेकी छन्। ‘आफुले पालेका खान मायाँ लाग्छ। बाहिरबाट खसी किनेर ल्याएकी छु,’–उनले भनिन्।

यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो। यो वर्ष खरिद गरेका छैन। घरबाट नै बेच्ने गरेका छन्। कतिपयले ३३ किलोमिटर दुरीमा रहेको नारायणगढ बजारमा ल्याएर बेच्ने गरेका छन्। कोयलघारीकै निरबहादुर गुरुङ अघिल्ला वर्षमा जस्तो खसी बोकामो मुल्य नभएको बताउँछन्। ‘दुई दिनसम्म नारायणगढ खसि बेच्न गएँ। मुल्य नै पाइदैन,’ उनले भने ‘केजिको पाँच सय रुपैयाँमा पनि बिक्रि हुँदैन।’

अघिल्लो वर्ष यहाँका किसानले छ सय रुपैयाँसम्म मुल्य पारेका थिए। अहिले उत्पादन बढी र आर्थिक मन्दिका कारण खपत कम हुँदा मासुको मुल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा.सुनिल ज्ञवाली बताउँछन्। ‘नेपालमा तुलनात्मक रुपमा खसी बोकाको बिक्रि कम छ। पहिलो बेच्दै आएका कृषक समुह र सहकारीहरुले पनि बेच्नु भएको छैन,’ उनले भने ‘उत्पादन धेरै भएपछि पाँच सय रुपैयामा पनि किसानले बेच्ने गर्नुभएको छ।’ अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु १२ सय रुपैयाँमा बिक्रि भइरहेको छ। इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ। दशैँमा खसीबोकाको कारोबार भने एकीङ नभएको उनले बताए। चितवनमा विगतमा पाच वटा सहकारी संस्थाबाट खसी बोका बिक्रि हुँदै आएको थियो। गत वर्ष सहकारीबाट दुई हजार खसीबोका बिक्रि भएका थिए।

  

प्रकाशित: ४ कार्तिक २०८० ०५:१९ शनिबार

दसैँ खसीबोका