समाज

एउटा पालिकामा एकै दिन दुई प्रमुख हाजिर हुन आएपछि...

रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई कार्यालय प्रमुख हाजिर हुन आएपछि जनप्रतिनिधि विभाजित भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी दिएको हाजिर नहुँदै अर्कोलाई जिम्मेवारी दिएपछि एकै दिन दुई जनाले कार्यालय प्रमुखको रुपमा हाजिरी गर्दा अन्योल सिर्जना भएको हो।

मन्त्रालयले असोज २६ को मितिमा उपसचिव सुरेन्द्र प्रधानलाई वृन्दावन नगरपालिकाको प्रमुखको जिम्मेवारी दिएको थियो। जिम्मेवारी पाएका प्रधान कात्तिक २ गते नै कार्यालयमा हाजिर गर्न पुगेका छन्। 

प्रधान वृन्दावनमा हाजिर गर्न नपुग्दै मन्त्रालयले फेरि नगरपालिकामै छैटौँ तहमा स्वास्थ्य सेवातर्फ कार्यरत रास नारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि बढीमा दुई महिनाको लागि मात्र आर्थिक तथा प्रशासनिक कार्यसमेतको जिम्मेवारी दिएको थियो। पटेल पनि  कात्तिक २ गते नै दलबलसहित कार्यालय प्रमुखको रुपमा हाजिर गर्न पुगे।

नगरपालिकाका प्रमुख विनोद प्रसाद कुर्मीले भने कार्यालय प्रमुखको रुपमा पटेल हाजिर भएको बताएका छन्। र अर्का प्रमुख प्रधानको हाजिर भने फर्जी भएको बताएका छन्।

नगर प्रमुख कुर्मी पटेललाई कार्यालय प्रमुखमा हाजिर गराइसके पछि यता उपप्रमुख सङ्गीताकुमारी रामसहितको टोलीले भने उपसचिव सुरेन्द्र प्रधानलाई हाजिर गराएको छ।

उपप्रमुख राम पक्षधरले पटेलको पत्रमा नै प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मका लागि भन्ने ब्यहोरा उल्लेख गरिएकोले प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रधान हाजिर भएपछि पटेल स्वतः कार्यालय प्रमुख पदबाट पदमुक्त भएको जिकिर गरेका छन्। 

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको वृन्दावन नगरपालिका कार्यालयमा दसैँ बिदा हुनु एक दिनअघि दुई जनाले कार्यालय प्रमुखको रुपमा हाजिर गरेपछि झन् अन्योल उत्पन्न भएको छ। 

प्रकाशित: ३ कार्तिक २०८० ०९:२९ शुक्रबार

रौतहटको वृन्दावन नगरपालिका