समाज

जब १७ वर्षीया मोनिका मन्त्री बनिन्...

कालिकोटको नरहरिनाथ गाउँपालिकाकी १७ वर्षीया किशोरी मोनिका कुमारी बुढा एक दिनका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री बनेकी छन्।

खड्कबहादुर पोखरेलले माोनिकालाई मंगलबार एक दिनका लागि आफ्नो पद हस्तान्तरण गरे। पदभार ग्रहण लगत्तै मोनिकाले मन्त्रालयले गरिरहेका काम र विषयगत महाशाखाहरुले गरिरहेका कामका बारेमा कर्मचारीबाट जानकारी लिइन्। उनको मुख्य चासो महिला, बालबालिका र शिक्षामा थियो।

मोनिकाले सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवाली र शिक्षा शाखाका प्रमुख बलवीर सुनारमार्फत सम्बन्धित महाशाखाले गरिरहेका कामका बारेमा जानकारी लिएकी थिइन्।

मोनिकाले जनताले अनुभूति गर्ने गरेर मन्त्रालय र सम्बन्धित महाशाखा र जिल्लास्थित कार्यालयहरुले काम गर्नुपर्ने बताइन्। सामाजिक विकास मन्त्रालयले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, खेलकुदलगायतका क्षेत्रहरू हेर्छ।

एक दिनका लागि मन्त्री बनेकी मोनिकाले कालिकोटमा अझैसम्म पनि कक्षा ११ को पठन–पाठन सुरु नभएको बताउँदै त्यसको कारणबारे सम्बन्धित महाशाखा प्रमुखलाई प्रश्न सोधेकी थिइन्।

‘मेरो गृह जिल्ला कालिकोटमा अझै ११ कक्षाको पठन–पाठन सुरु भएको छैन,’ उनले महाशाखा प्रमुखलाई प्रश्न गरिन्, ‘सबै विद्यार्थीहरुले प्रतिस्पर्धात्मक रुपमा सिक्ने अवसर सुनिश्चित गर्न किन पहल नगरेको हो ?’

मोनिकाले राखेको प्रश्नको जवाफ दिँदै शिक्षा अधिकृत सुनारले कर्णालीमा शैक्षिक सूचकहरू अन्य प्रदेशहरुको तुलनामा कम रहेको बताउँदै सुधारका लागि मन्त्रीको सक्रियता आवश्यक रहेको बताए।

मोनिकाले सामाजिक विकास महाशाखा प्रमुखलाई विभिन्न सर्वेक्षणले कर्णालीमा बालविवाह उच्च देखिएको र यसले बालिकाहरुको व्यक्तित्व विकास, नेतृत्व विकासका साथै जीवन जिउने कला सिक्न बाधा परिरहेको बताइन्।

उनले कर्णालीमा अझै छाउपडी कुप्रथा कायमै रहेको बताउँदै यसको अन्त्यका लागि मन्त्रालयले विशेष अग्रसरता लिनुपर्ने बताइन्।

‘आजैदेखि बालविवाह अन्त्य, छाउपडी कुप्रथाको अन्त्यका लागि ठोस पहल गर्नुहोस्,’ उनले भनिन्, ‘सरोकारवालाको साथ र सहयोगका यस्ता कुप्रथाहरु अन्त्य हुन आवश्यक छ।’

सामाजिक विकास मन्त्रालयका सचिव डा. भोजराज शर्मा काफ्लेले बालिकाहरुको नेतृत्व क्षमता विकासका लागि यो महत्त्वपूर्ण अवसर भएको बताए।

उनले एक दिनका लागि मन्त्री बनेकी मोनिकाको व्यक्तित्व प्रभावशाली रहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे।

समापन कार्यक्रममा सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले कर्णालीले हजारौं मोनिका जन्माउन आवश्यक रहेको बताए। किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको बृहत्तर लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक विकास मन्त्रालयले मोनिकालाई एक दिनका लागि मन्त्री बनाएको हो।

प्रकाशित: १ कार्तिक २०८० १३:१५ बुधबार