समाज

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

फाइल तस्बिर

बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको छ। बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिए।

जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक सडकखण्ड लामो समयसम्म अवरुद्ध भएपछि चौतर्फी आलोचना हुँदै आएको थियो। सातआठ दिनसम्म लगातार ठूला जेसिवीको सहायताले पहिरो हटाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको उनले बताए। सडक अवरुद्ध हुँदा लाप्राकमा दैनिक उपभोग्य सामग्री पु¥याउन समेत कठिनाइ हुँदै आएको थियो।

लाप्राक र आसपासका बस्तीमा सडक अवरुद्ध हुँदा चाडबाडका बेलामा पनि भारी बोकेर खाद्यसामग्री लैजानुपर्ने बाध्यता रहेको थियो। हरेक वर्ष बर्खा लागेसँगै उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ। बारपाक–लाप्राक सडकखण्ड २०७७ साल जेठ ९ गते ठेक्का सम्झौता गरी सडक स्तरोन्नतिको काम सुरु गरिरहेको भए पनि ठेकेदारले समयमा काम सम्पन्न नगर्दा त्यस क्षेत्रका बासिन्दाले हैरानी खेप्दै आउनु परेको छ।

ठेक्का सम्झौता भएको झण्डै ४१ महिना भइसक्दा समेत स्तरोन्नतिको काम सम्पन्न हुन सकेको छैन। पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ साल जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा÷विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको थियो। सडकको भौतिक प्रगति अहिलेसम्म ५२ प्रतिशतमात्र रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।

कार्यालयले १३.१४ किलोमिटर सडक ३४ करोड १५ लाख ७१ हजार एक सय ९८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने भएपछि कार्यालयले गएको जेठ २२ गतेभित्रका काम सम्पन्न गर्ने म्याद थप गरेको थियो। थपिएको म्याद सकिएको चार महिना भइसक्दा पनि सडक स्तरोन्नतिको काम भने अझै अलपत्र रहेको छ। रासस

प्रकाशित: १ कार्तिक २०८० ०७:१६ बुधबार

बारपाक–लाप्राक सडकखण्ड