समाज

बैतडीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी– बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका– ४ की २४ वर्षीया कविता तिवारी र पाटनकी १९ वर्षीया रेवती भाट रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

दुर्घटनामा परी अन्य आठ जना गम्भीर घाइते भएकामा छ जनाको कैलालीको पद्मा अस्पातालमा उपचार भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेका दुई जनालाई भारतको हल्दवानी पठाइएको छ । भारत पठाइएकामा कञ्चनपुर, भीमदत्तनगर गोवरैयाका ५० वर्षीय रामदास र १५ वर्षीय सन्तोष दास रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको परिचय खुल्न सकेको छैन । 

शनिबार बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २७२३ नं को बस भीमदत्त राजमार्गको चुरे गाउँपालिका– ३ धपेनीमा आज बिहान ५ बजे दुर्घटनामा भएको हो। 

बस चालक पनि गम्भीर घाइते भएकाले बस दुर्घटनाको कारण खुल्न नसकेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए। उनले भने, “सडक छेउका पिल्लर तोडेर बस घुम्तीबाट १०० मिटर तल खसेको छ। ” 

प्रकाशित: २६ कार्तिक २०७४ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App