समाज

इतिहासको चिन्तामा चित्तरञ्जनको चिता

सोमबार दिउँसो मदन पुरस्कार समर्पण समारोहमा ‘ऐंठन’ उपन्यासका लागि विवेक ओझा र साहित्यमा दीर्घकालीन योगदानका लागि पुस्तकका आवरणकला सर्जक टेकवीर मुखियालाई सम्मानित गरिरहँदा सभामा खासखुस सुरु भयो। संयोग यस्तो बन्यो कि प्रथम पटक मदन पुरस्कार विजेता चित्तरञ्जन नेपालीको निधन भएको खबर पुरस्कार वितरण भइरहेकै बेला साहित्य साधकहरूमाझ गाइँगुइँ चल्यो। साथै सो कार्यक्रममा इतिहासकार योगेश राज आफ्नो प्रवचनमा नेपाली इतिहासकारहरूको प्रवृत्ति र आवृत्तिमाथि चिन्ता गरिरहेका थिए।

ऐतिहासिक कृति जनरल भीमसेन थापा र तत्कालीन नेपाल लेखेर मदन पुरस्कार पाएका र जीवनकालमा अन्य थुप्रै इतिहास–लेखनी गरेका, इतिहास सुधारमा लागेका चित्तरञ्जनलाई जाँदाजाँदै समयले दिएको अर्को संयोग थियो यो।

नेपाली साहित्यमा पहिलो पटक ठूलो रकमको पुरस्कार स्थापना गरिएको मदन पुरस्कार प्राप्त गर्ने पहिला तीन जनाहरूमध्ये एक चित्तरञ्जन नेपालीको सोमबार दिउँसो निधन भयो। राणाविरोधी आन्दोलनका लागि आफ्नो वास्तविक नाउँ नारायणप्रसाद राजभण्डारी त्यागेर नयाँ नाउँ जुराउने चित्तरञ्जनको काठमाडौंको ओम अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो। श्वासप्रश्वासको समस्या भएपछि उनलाई अस्पतालमा भर्ती गरिएको पारिवारिक स्रोतले जनाएको छ।

१९८८ साउन १० मा जन्मिएका उनी काठमाडौंको न्हैकन्तलामा १३ जना सन्तानको ठूलो परिवारमा हुर्किएका थिए। उनका हजुरबुवा जुजुमान तौसीखानामा जागिरे थिए। श्री ३ महाराज चन्द्रशमशेरले ज्यादै विश्वास गरेकाले उनले न्यायिक निर्णयसमेत गर्ने गर्थे। पछि उनका बुवा मेदिनीप्रसादले पनि सोही कामलाई निरन्तरता दिए। तौसीखाना नै कालान्तरमा नेपालको परराष्ट्र मन्त्रालय बन्यो र चित्तरञ्जन पनि पुनः त्यहीँको जागिरे बन्न पुगे।

२००४ सालमा एसएलसी पास गरेदेखि नै उनी साहित्यमा आकर्षित थिए। २००७ सालमा विवाह गरेका उनका तीन छोरी र एक छोरा छन्। चित्तरञ्जनको समय नेपालमा नयाँ चेतना प्रवाह सुरु भएको समयका रूपमा मात्र गणना नभई नेपालीको इतिहास नेपालीले लेखेको अवधिका रूपमा समेत चिनिन्छ। उनी सुरुवाती इतिहासकारहरूको शृंखलामा इतिहास शिरोमणि बाबुराम आचार्य, नयराज पन्त, बालचन्द्र शर्माहरूको लहरमा उभिएर प्रामाणिक इतिहासलाई समृद्ध बनाउने व्यक्तित्वमध्ये गनिइन्छन्।

चित्तरञ्जनका हजुरबुवा, बुवा तौसीखानामा जागिरे थिए। देशकै महŒवपूर्ण कागजात सो विभागमा हुने हुनाले ती कागजातमाथि चर्चा गर्न बाबुराम आचार्य बेलाबेला चित्तरञ्जनको घर पुग्थे। बुवा मेदिनी र आचार्यबीच छलफल सुन्दासुन्दै उनी पनि इतिहासप्रति आकर्षित भएका थिए।

उमेर हुर्कंदै गर्दा उनी राजनीतितर्फ पनि आकर्षित भए। उनी कुनै पार्टी विशेषमा लाग्नुभन्दा पनि राणाहरूबाट मुलुक मुक्त होस् भन्ने चाहन्थे। त्यसैले गोपालप्रसाद रिमाललगायत साहित्यकारसँग मिलेर कविता लेख्ने र नाटक मञ्चन गर्ने गर्थे।

उनले २००७ सालमै नेपाल भाषामा शोककाव्य ‘मां लुमांका’ (आमाको सम्झना) प्रकाशित गरेका थिए। पछि उनले प्रख्यात साहित्यकार पारिजातसँग नाटकमा अभिनयसमेत गरेका थिए। गोविन्दबहादुर मल्ल गोठाले ‘युगको सिकार’लाई श्यामदास वैष्णवले निर्देशन गरेका थिए। नेपालमा प्रजातन्त्र प्राप्तिपछि उनले इतिहास खोतल्न थालेका हुन्। इतिहास लेखनमा आधुनिक कालको मात्र अध्ययन गर्न सकेकामा उनी थक्कथक्क मान्थे। उनलाई प्राचीन र मध्यकालको अध्ययनका लागि आवश्यक पर्ने संस्कृत, रञ्जना लिपि तथा मैथिली भाषाको ज्ञानको अभावका कारण त्यसतर्फ प्रवेश गर्न नसकेकामा पछुतो थियो।

उनले पहिलो पटक भीमसेन थापामाथि पुस्तक लेख्ने निधो गर्दा आफ्नै घरमा बुवाले टिपोट गरेका कागजपत्र थिए। नेपालको इतिहासमा भीमसेन थापा यस्ता व्यक्तित्व थिए, जो सामान्य परिवारबाट आए पनि ३१ वर्षसम्म नेपाल सञ्चालन गरे। उनले अंग्रेजसँग युद्ध भिड्ने आँट गरे। त्यति मात्र नभई उनको अन्त्य निकै दुःखदायी रह्यो। उनको मृत्युपछि न त गाढ्न दिइयो, न त जलाउन नै ! यस्तो नाटकीय जीवनलाई नै लेख्दा उपयुक्त हुने ठानी उनले भीमसेन थापामाथि लेखेका थिए। उनको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’का लागि २०१३ सालमा मदन पुरस्कार दिइएको थियो। त्यो बेला पुरस्कारबापत भारतीय दुई हजार पाँच सय प्रदान गरिएको थियो। त्यसको निकै चर्चा भएपछि उनले श्री ५ रणबहादुर शाह ः व्यक्तित्व र शासनकाल लेखे। यो लेख्न राजा महेन्द्रले नै विशेष चासो देखाएको उनले पुस्तकको प्रथम संस्करणमा लेखेका छन्। उनले ‘नेपाली चीन सिमाना सन्धि’ पुस्तक लेखेका छन्। खासगरी उनले यस सन्धिमा आफैंले हस्ताक्षर गरेको हुनाले यो पुस्तक निकै प्रामाणिक मानिन्छ। उनका ‘राणाशाहीको रोल व्यवस्था र धर्मपुत्रहरू’, ‘पारिवारिक षड्यन्त्रका कथाहरू’ पनि उत्तिकै चर्चित पुस्तक मानिन्छन्।

बेलाबखतमा अखबारी लेखन र खासगरी साहित्यमाथिको टिप्पणी गरेका पुस्तक पनि प्रकाशित छन्। ‘नेपाली इतिहासमा उहाँ निकै प्रभावशाली लेखकका रूपमा म चिन्दछु,’ पत्रकार राजकुमार बानियाँले नागरिकसँग कुरा गर्दै भने, ‘उहाँले जहिल्यै आफूलाई कमत्तर रूपमा प्रस्तुत गर्नुभयो। उहाँमा अहं र बडप्पन थिएन। उहाँलाई धेरैले बिर्सिसकेका थिए।’

इतिहासकार डा. सुरेन्द्र केसीले भने आफूले पछिल्लो समय चित्तरञ्जनको योगदानको कदर गर्दै इतिहास शिरोमणि बाबुराम आचार्य फाउन्डेसनमार्फत एक लाख रूपैयाँको सिफारिस गर्न पाउँदा गर्व लागेको बताए। उनले भने, ‘उहाँ जीवित छँदै हामीले बिर्सेका छैनौं भन्ने सन्देश दिन सक्यौं, त्यसमा सन्तोष छ।’

‘इतिहासमा उहाँले जे जति लेख्नुभयो, ती सबै प्रामाणिक र कोसेढुंगा पुस्तक लेख्नुभयो,’ डा. केसीले भने, ‘नेपालको इतिहास जहिल्यै विदेशीले लेखेका थिए। चित्तरञ्जन, बालचन्द्र शर्मा, नयराज पन्त, बाबुराम आचार्यहरूको मिहिनेतले नेपालको इतिहास नेपालीले नै लेख्ने वातावरण मात्र जुरेन, ती काम अरूका लागि प्रेरणादायीसमेत बने।’ चित्त नबुझे कुरा प्रस्टसँग राख्ने व्यक्तिका रूपमा डा. केसीले सम्झे, ‘एक पटक पिएचडीको भाइवा थियो। मेरा गुरुहरू तुल्सीराम वैद्य र त्रिरत्न मानन्धर सुपरिवेक्षक हुनुहुन्थ्यो। बाह्य परीक्षकका रूपमा उहाँलाई निम्त्याइएको थियो। जसको पिएचडीको थेसिस थियो, त्यसमा उहाँलाई चित्त नबुझेपछि आफ्ना दुई चेलाहरू मानन्धर र वैद्य दुवैको साता खानेगरी हप्काउनु भएको हिजैजस्तो लाग्छ।’

प्रकाशित: ३० आश्विन २०८० ००:२८ मंगलबार

इतिहासको चिन्तामा चित्तरञ्जनको चिता