समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

महिला सशक्तीकरणका लागि क्रिकेट अभियान

स्याङ्जा क्रिकेट संघले यति बेला जिल्लाका विभिन्न विद्यालयमा पुगेर क्रिकेट अभियान चलाएको छ।

संघले अहिलेसम्म १५ वटा विद्यालयमा क्रिकेटको ट्यालेन्ट हन्ट गरिसकेको छ। ट्यालेन्ट हन्टबाटै खेलाडी छनोट गर्दै प्रशिक्षण दिदैं आएको छ।

प्रशिक्षणसँगै खेलाडीले आगामी कात्तिक २० गतेदेखि स्याङ्जामा आयोजना हुने पुतली बजार उपमेयर रनिङशिल्ड महिला क्रिकेट प्रतियोगिता खेल्नेछन्।

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने  

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कात्तिक १ गते विश्वासको मत लिने तयारी गरेका छन्।

कात्तिक १ गते सोमबार दिउँसो विश्वासको मत लिनका लागि कार्कीले कोशी प्रदेशसभा सचिवालयमा सोमबार प्रस्ताव दर्ता गरेको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए।

चिनी बिनाको सुपथ मूल्य पसल

चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा चिनी हाहाकार भएको छ। साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा पनि चिनीको अभाव छ।

साल्ट ट्रेडिङ चितवनका प्रमुख बुद्धि विनोद दाहालले चिनीको अभावमा यस पटकको सुपथ मूल्य पसल खल्लो भएको बताए। यस पटकको दसैँमा पनि चिनी नआउने उनले जानकारी दिए।

१२ वर्ष बित्दा पनि बनेन कमला नदीमा पुल

१२ वर्ष बित्दा पनि कमला नदीमा पुल नबन्दा यस भेगका जनता कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

वि.स २०७८ असारसम्म निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरी उद्घाटनको तयारी भइरहेकै बेला कमला नदीमा आएको बाढीले पुल भासिएको थियो।

निर्माण कम्पनीले असोजबाट पुनः काम सुरु गर्ने बताए पनि अझै काम सुरु नहुँदा पुल निर्माण अनिश्चित बनेको छ।

प्रमुख प्रशासकीय अधिकृत बिदामा बस्दा सेवाग्राही मर्कामा

जुम्लाको गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई दसैं बिदामा बसेपछि सेवाग्राही मर्कामा परेका छन्।

अधिकृत भट्टराई बिदामा बसेपछि सर्वसाधारणले गाउँपालिकाबाट पाउनुपर्ने भुक्तानी रकम रोकिएको छ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बिदा स्वीकृतबिना नै प्रशासकीय अधिकृत बिदामा बसेको बताएका छन्।

लुम्बिनीमा मन्त्रालय नबढाउने

लुम्बिनी प्रदेशमा मन्त्रालय नबढाएर सरकारलाई पूर्णता दिने तयारी थालिएको छ।  

दुई वटा मन्त्रालय बढाउने तयारीमा रहेका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अब मन्त्रालय नबढाउने मनस्थितिमा पुगेको सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए।

प्रदेशमा हाल मुख्यमन्त्री सहित ७ सदस्यीय मन्त्रीमण्डल छ। अब ३ मन्त्री नियुक्त गरी सरकारलाई पूर्णता दिइँदै छ।

बेमौसमी वर्षाले काटेको धान भिजाउँदा किसान चिन्तामा  

बेमौसमी वर्षाले काटेको धान भिजाउँदा किसान चिन्तामा परेका छन्। काटेर खेतमा सुकाइएको धानलाई पानीले भिजाएपछि किसानहरू चिन्तामा परेका हुन्।  

किसान खुसीराम थारूले काटेको धान खेतमै भिज्दा काम नलाग्ने अवस्थामा पुगेको बताए।  

प्रकाशित: २९ आश्विन २०८० १३:५४ सोमबार

सात प्रदेशका सात समाचार