समाज

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

रवीन ढकालको नेतृत्वमा वैज्ञानिक समूहले कम उचाइबाट समेत जलविद्युत् उत्पादन गर्न सकिने नयाँ प्रविधि विकाससम्बन्धी अनुसन्धानपत्र तयार पारेको थियो । सोही अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो ।

ढकालको नेतृत्वमा वैज्ञानिक समूहले कम उचाइबाट समेत जलविद्युत् उत्पादन गर्न सकिने नयाँ प्रविधि विकाससम्बन्धी अनुसन्धानपत्र तयार पारेको थियो । सोही अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । हालसम्म पहाडी क्षेत्रमा अग्लो स्थानबाट पानी खसाएर जलविद्युत् उत्पादन हुँदै आएको छ । ढकाल नेतृत्वको समूहले भने कम उचाइबाट समेत पानी खसाएर विद्युत् उत्पादन गर्न सकिने प्रविधि विकास गरेको हो । उनीहरूले आफूले विकास गरेको प्रविधिसम्बन्धी अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरेका थिए ।
पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न बज्राचार्यको संयोजकत्वमा ढकाल र उनको समूहले सन् २०१२ देखि नै कम उचाइमा कसरी जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान गर्दै आएको थियो । उनीहरूले गरेको अनुसन्धानले ‘वाटर भर्टेक्स पावर प्लान्ट’ बाट कम उचाइमा समेत विद्युत् उत्पादन गर्न सकिने प्रमाणित गरेको छ । त्यसैका आधारमा ढकाल समूहको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको डिन बज्राचार्यले बताए ।
‘अनुसन्धानबाट प्राप्त नतिजाले यो प्रविधि प्रयोग गरी तराईका नदीनालाबाट समेत सरल र सहज तरिकाले विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने देखाएको छ,’ डिन बज्रचार्यले भने, ‘एकदेखि तीन मिटरसम्मको उचाइमै एक क्युबिक मिटर प्रतिसेकेन्डदेखि माथि पानीको डिस्चार्जमा विद्युत् उत्पादन गर्न सकिन्छ ।’
कम उचाइमै पानी प्रयोगबाट विद्युत् उत्पादन गर्न सकिने अनुसन्धानमा ढकाल र बज्राचार्यबाहेक क्षितिज खनाल, विनोदबाबु कुमाल, श्रीराज शाक्य, सुवास गौतम, धनप्रसाद घले, सुशीलचन्द्र इतानी र एसजे विलिंसम संलग्न थिए ।
कम उचाइमै पानीबाट विद्युत् उत्पादन गर्न सकिने सम्भावनाबारे सन् २००७ मा अस्ट्रियामा अनुसन्धान सुरु भएको थियो । नेपालमा भने सन् २०१२ मा अनुसन्धान सुरु गरिएको हो ।
डिन बज्राचार्यले नेपालमा लघु जलविद्युत् पहाडमा केन्द्रित भएकोमा नयाँ अनुसन्धानले भने तराईमा समेत यसको सम्भावना देखाएको बताए । ‘हामीले समथर भूभागबाट बग्ने नदीनालाबाट जलविद्युत् निकाल्ने खोज अनुसन्धान मेरै मातहतका विद्यार्थीले प्रोजेक्ट वर्कका रूपमा धेरै गरेका हुन्,’ बज्रचार्यले भने, ‘पाँच–६ वर्षको अथक प्रयासले पूर्णता पाएको हो ।’ उनले अनुसन्धानमा आधारित गुरुयोजना अघि बढाउन नेपाल सरकारको ऊर्जा मन्त्रालयबाट २० लाख आर्थिक सहयोग प्राप्त भएको जानकारी पनि दिए ।

प्रकाशित: २५ कार्तिक २०७४ ०२:१४ शनिबार

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट