समाज

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

मधेस एमालेको पदाधिकारीमा सर्वसम्मत, अध्यक्षमा चन्देश्वर मण्डल  

 नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनबाट सिरहाका चन्देश्वर मण्डल सर्वसम्मत अध्यक्ष चयन भएका छन्।  

उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सह– सचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कास (धनुषा) सर्वसम्मत चयन भएको नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवले जानकारी दिए।

विन्ध्यवासिनी मन्दिरमा घट्यो भेटी  

पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको भेटी आधा घटेको छ। मन्दिरको भेटी आधा कम भएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए।

उनका अनुसार मन्दिरमा पहिले दैनिक एक लाख भन्दा बढी भेटी संकलन हुन्थ्यो। तर अहिले त्यो घटेर ५०–६० हजार रुपैयाँमा झरेको छ।

भेटी घटेसँगै मन्दिरका कर्मचारीलाई तलब खुवाउन मुस्किल भएको उनको भनाइ छ। मन्दिरमा अहिले १४ जना पुजारीसहित करिब ६० जना कर्मचारी छन्।

प्रदेशले ल्याएको निजामती विधेयकको विरोध

कर्णाली प्रदेशले ल्याएको प्रदेश निजामती विधेयकको कर्मचारीहरुको संघसङ्गठनहरूले विरोध गरेका छन्।

नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह अन्तर्गत वन रक्षक प्राविधिकहरूले विधेयकको विरोध गरेका हुन्।

प्रदेश निजामती सेवा ऐन जारी गर्नु पूर्व नै आधिकारिक ट्रेड युनियन मार्फत तहगत एवं श्रेणीगत गर्न समयमै सम्बोधन हुने गरी सुझाव राख्दा समेत सुनुवाइ नभएको भन्दै  विरोध गर्नु परेको कर्मचारीहरूले बताएका छन्।

कोशीमा ८ सांसदलाई निर्णय फिर्ता लिन काँग्रेसको आग्रह

कोशी प्रदेश काँग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टी निर्णय विपरीत गरिएको निर्णय फिर्ता लिन सांसदहरूलाई आग्रह गरेको छ।

आज विराटनगरमा बसेको बैठकले पार्टी निर्णय विपरीत ८ जना सांसदले गरेको निर्णय फिर्ता लिन आग्रह गरेको कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए।

इजरायलमा घाइते भएका प्रविण ६ महिना पछि मात्र घर आउने

इजरायल आक्रमणमा घाइते भएका दाङका प्रविण डाँगी तत्काल घर नफर्कने भएका छन्।

दुबै खुट्टामा गोली लागेको र अप्रेसन गरिएकाले ६ महिनासम्म अस्पतालमै राखेर उपचार गर्नु पर्ने अस्पतालले जनाएको बुवा निमबहादुर डाँगीले बताए।

छोरो ६ महिना पछि मात्रै घर आउने हुँदा थप चिन्ता बढेको निमबहादुरको भनाइ छ।

भरतपुर अस्पताल अक्सिजनमा आत्मनिर्भर  

चितवनको भरतपुर अस्पताल अक्सिजनमा आत्मनिर्भर भएको छ।

दैनिक २ सय ५० सिलिन्डर अस्पतालभित्रै उत्पादन हुने प्लान्ट जडान भएपछि अस्पताल अक्सिजनमा आत्मनिर्भर बनेको हो।

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा भरतपुर अस्पतालमा नयाँ अक्सिजन प्लान्ट निर्माण गरेपछि आत्मनिर्भर बनेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बालिका बलात्कार गरेको आरोपमा ट्रक चालक पक्राउ

 बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन्।

जबरजस्ती करणी गरेको आरोपमा मेलौली नगरपालिका–७ का महेश ओझा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर जाँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकका चालक ओझाले माडिगा सँगै रहेकी अन्दाजी १७ वर्षीया  किशोरीलाई  गैरा मा जबरजस्ती करणी गरेको खत्रीले बताए।

प्रकाशित: २६ आश्विन २०८० १३:१७ शुक्रबार

सात प्रदेशका सात समाचार