समाज

आर्थिक मन्दिको मार मन्दिरमा पनि

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने

पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिर

आर्थिक मन्दिको मार सबैतिर छ। नेपाल पनि यसबाट अछुतो छैन। मानिसको क्रयशक्ति घटेको छ। यहि आर्थिक मन्दिका कारण आम मानिसको जनजीवन प्रभावित भएको छ। मन्दिको असर यतिसम्म छ कि आम मानिसको आय क्षमता घटेको छ। 

मन्दिको असर मान्छेमा मात्रै सीमित छैन। यसको असर यत्र, तत्र, सर्वत्र पर्न थालेको छ। अरु त अरु, आर्थिक मन्दिको असर भगवान बस्ने मन्दिरमा पनि पर्न थालेको छ। भगवान बस्ने मन्दिरलाई पवित्र मानिन्छ। त्यहि भएर मानिस त्यहाँ पुजा गर्छन्। फूल अक्षतासँगै द्रव्य अर्थात भेटी चढाउँछन्।

तर अहिले त्यहि भेटी पनि मान्छेले कम चढाउन थालेको पाइएको छ। मन्दिको असरसँगै पोखराको प्रसिद्ध विन्ध्यबासिनी मन्दिरको भेटीपनि आधा कम भएको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समीतिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए।

उनका अनुसार मन्दिरमा पहिले दैनिक एकलाख भन्दा बढी भेटी संकलन हुन्थ्यो। तर अहिले त्यो घटेर ५०–६० हजार रुपैयाँमा झरेको उनको भनाई छ। ‘मन्दिरको भेटी हामी आफैले उठाउन थालेपछि आश्चर्यजनक ढंगबाट भेटी संकलन भयो। त्यसबेला दैनिक एकलाख भन्दा बढी भेटी संकलन हुन्थ्यो। तर अहिले झण्डै आधा घटेको छ। कहिलेकाहिँ एक लाख रुपैयाँसम्म भेटी संकलन हुन्थ्यो, तर औषतमा अहिले दिनको ५०÷६० हजार रुपैयाँ नै हो,’ उनले भने।

भेटी घट्नुमा मन्दि प्रमुख कारण भएको सदस्य सचिव श्रेष्ठले बताए। ‘आम मानिसको आयश्रोत घटेको छ,’ उनले भने, ‘सायद त्यसको असर मन्दिरमा पनि परेको होला।’ मन्दिरमा दर्शनार्थी कम हुनु र कोभिडपछि मन्दिरमा आउने दर्शनार्थीले चढाउने भेटीको रकम पहिले भन्दा घट्दा भेटी घटेको उनको भनाई छ। 

भेटी घटेसँगै मन्दिरको खर्च व्यवस्थापनमा असर परेको श्रेष्ठले बता । १४ जना पूजारीसहित करिब ६० जना कर्मचारी रहेको मन्दिरमा अहिले उनीहरुलाई तलब खुवाउन मुस्किल हुने गरेको उनको भनाई छ। त्यसबाहेक मन्दिरमा गरिने विभिन्न पुजाअर्चना, मन्दिर सौन्दर्यकरणसँगै नयाँ पूर्वाधार निर्माणमा पनि त्यहि पैसा खर्च गर्दा अहिले खर्च धान्न धौधौ परेको उनले बताए।

उनका अनुसार अहिले मन्दिरको कमाई मासिक १५ लाख रुपैयाँको हाराहारीमा छ। तर खर्च भने २३ लाख हुने गरेको उनले बताए। मन्दिरको खर्च १५ लाख भएपनि हालैमात्र सञ्चालनमा आएको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको मासिक ८ लाख रुपैयाँ खर्च आउने उनले जानकारी दिए।

मन्दिरले आयश्रोत बढाउन धार्मिक पर्यटक भित्र्याउनका लागि विभिन्न योजनासँगै कार्यक्रम गर्ने गरेको छ। तर पर्यटन सम्बद्ध संघसंस्था तथा स्वयं नेपाल पर्यटन बोर्डले समेत विन्ध्यवासिनी मन्दिरलाई पर्यटकीय केन्द्र मानेर सहकार्य नगरेको उनको गुनासो छ। ‘आन्तरिक र भारतीय पर्यटक अत्यन्त धेरै मात्रामा विन्ध्यबासिनी मन्दिर आउँछन्,’ उनले भने, ‘तर संघ सरकार, प्रदेश सरकार होस् वा पर्यटन बोर्डको नीतिमा धार्मिक पर्यटन पर्दैन। त्यसैले उनीहरुले हामीलाई कहिल्यै पर्यटन सम्बन्धि कार्यक्रममा हामीलाई बोलाउँदैनन्।’ तर सरकारसँग हार गुहार गरेर भएपनि खर्च धान्दै आएको उनले प्रष्ट्याए। 

विन्ध्यवासिनी मन्दिरले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय हालसालै सञ्चालनमा ल्याएको छ। तर यो पूर्ण रुपले सञ्चालनमा आइसकेको छैन। त्यहि भएर यसको आर्थिक भार पनि मन्दिरमै थपिएको उनले बताए। त्यसबाहेक समितिले विन्ध्यवासिनी गुरुकुल विद्याश्रम, निःशुल्क एम्वुलेन्स सेवा, विन्ध्यबासिनी मन्दिरमा लिफ्ट सञ्चालन गरी अशक्त, अपाङ्गता भएका तथा बृद्धबृद्धालाई निःशुल्क सेवा, दैनिक योग साधना, विन्ध्यबासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन लगायतका कार्यहरु गर्दै आएको छ। 

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने 

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा बडादशैंको अवसरमा विगतका वर्ष झैं यसवर्ष पनि नवदुर्गा महोत्सव हुने भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा यहि असोज २८ गते घटस्थापनाको दिनदेखि कात्तिक ६ गतेसम्म नवरात्री विशेष कार्यक्रम हुने विन्ध्यबासिनी मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। 

दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन पोखरामा एकसाथ विभिन्न जातिका भेषभुषा र सांस्कृतिक झाँकी सहित शोभायात्रा निकालेर जातीय र धार्मिक एकता प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ। घटनास्थापनाको दिन विहान ७ बजे विन्ध्यवासिनी पार्कबाट शुरु भएको शोभायात्रा सहरका विभिन्न भागको परिक्रमा गरि पुनः मन्दिरमै पुगेर समापन हुनेछ। मन्दिरमा सोहि दिनदेखि श्रीमददेवी भागवत ज्ञान महायज्ञसमेत प्रारम्भ हुने श्रेष्ठले जानकारी दिए।  

महायज्ञमा प्रखर वक्ता युवा पण्डित हरिशरण पौडेलबाट संगीतमय झाँकीसहित श्रीमददेवी भागवतको कथा प्रस्तुत गर्ने समितिका कार्यवाहक अध्यक्ष सुर्यप्रसाद सुवेदीले जानकारी दिए। त्यसपछि दैनिक रुपमा महानवमीसम्मै श्रीमद् देवी भागवतको कथा प्रस्तुत हुने उनले बताए। उनका अनुसार श्रीमददेवी भागवतको कथा विहान ९ बजेबाट मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेबाट  अपराह्न ४ बजेसम्म कथा प्रवचन हुने सुवेदीले बताए।  

प्रकाशित: २६ आश्विन २०८० ०७:४५ शुक्रबार

आर्थिक मन्दि विन्ध्यबासिनी मन्दिर भेटी