समाज

चन्दाबाट कवर्डहल स्तरोन्नति

खेलाडीले चन्दा सङ्कलन गरेर म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कालीपुल कवर्डहलको स्तरोन्नति गरेका छन्।

ब्याडमिन्टन खेलाडीले कवर्डहलभित्र ‘म्याट’ राखेर स्तरोन्नति गरेका हुन्। जिल्ला खेलकुद विकास समिति, ब्याडमिन्टन सङ्घ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन सङ्घको संयोजनमा दुई ब्याडमिन्टन कोर्ट (मैदान) मा ‘लेलिन ब्राण्डको म्याट’ बिछ्याइएको हो।

बेनी नगरपालिका ब्याडमिन्टन सङ्घका अध्यक्ष सज्जन शाक्यले नौ लाख रुपैयाँ खर्चेर म्याट बिछ्याएको बताए। “म्याट बिछ्याएर ब्याडमिन्टन कोर्टको स्तरोन्नति गरिएको हो”, उनले भने, “खेलाडीबाट चन्दा सङ्कलन गरेर म्याट खरिद गरेका हौं।”

ब्याडमिन्टन खेलाडीले प्रतिव्यक्ति एक हजारदेखि पच्चिस हजार रुपैयाँसम्म सहयोग गरेका छन्। पाँच हजारभन्दा बढी सहयोग गर्नेहरूको नामावली शिलालेखमा राखिने सङ्घले जनाएको छ।

बेनीको कवर्डहलको ब्याटमिन्टन कोर्टमा यसअघि काठ बिछ्याएर पार्केटिङ गरिएको थियो। काठको पार्केटिङ भएको कोर्टमा खेल्दा चिप्लने, लडेर हात खुट्टा भाँचिने र चोटपटक लागेर खेलाडी घाइते हुने गरेका थिए। जिल्ला बाहिरको म्याट बिछ्याएको कोर्टमा हुने प्रतिस्पर्धामा खेलाडीलाई खेल्न बानी नपर्दा समस्या भएको थियो।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले ब्याडमिन्टन खेलको सम्भावना देखिएकाले यसको विकासका लागि कवर्डहलको स्तरोन्नति गरिएको बताए। “म्याट बिछ्याउन खेलाडीले चन्दाबाट उठाएको पैसा नपुगे खेलकुद विकास समिति र बेनी नगरपालिकामार्फत ब्यावस्थापन गर्छौं”, उनले भने, “खेलाडीले सुुरक्षित रूपमा खेल्न पाउनुुका साथै दुर्घटना घट्ने र खेलमा थप सुधार भएर पदक जित्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ।”

म्याग्दीमा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ। बेनीको कवर्डहलको अलावा विभिन्न सरकारी कार्यालय र विद्यालयमा पनि ब्याटमिन्टन कोर्ट बनाएर खेल्ने गरेका छन्। खुला ठाउँको कोर्टमा पानी पर्दा र गर्मी हुदा खेल्न मिल्दैन।  

शारीरिक व्यायमका लागि ब्याडमिन्टन खेल प्रभावकारी भएको खेलाडी लोकेश पुन मगरले बताए। कर्मचारी, व्यवसायी, शिक्षक, बैंक, सहकारीकर्मी शारिरिक व्यायमका लागि बिहान, बेलुकीको समयमा ब्याडमिन्टन खेल्ने गर्छन्।

बेनीका अलावा तातोपानी, बाबियाचौर, ताकम, मुना, मराङलगायत ग्रामीण क्षेत्रमा पनि ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष हिमालय कार्कीले बताए।  

प्रकाशित: २५ आश्विन २०८० ०३:४२ बिहीबार

चन्दाबाट कवर्डहल स्तरोन्नति