समाज

जुम्लाका एमाले उपाध्यक्ष शाहीविरुद्ध यौन दुव्र्यवहारको आरोपमा उजुरी

नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीले पटक–पटक यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै एक बालिकाले उजुरी दिएकी छिन्।

मंगलबार बालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्लामा बालबालिका विरुद्धको कसुरमा जाहेरी दर्ता गराएका हुन्। 

शाहीले बालिकालाई सामाजिक सञ्जाल म्यासेन्जर र टेलिफोनमार्फत यौन सम्पर्कका लागि पटक–पटक प्रस्ताव राख्ने, नाङ्गो तस्बिरहरु खिचेर पठाउन दवाव दिएको जाहेरीमा उल्लेख छ।

उक्त बालिका काठमाडौंमा १० वर्षदेखि अर्काको घरमा काम गर्दै आएकी थिइन्। आफूमाथि पटक पटक यौन दुव्यवहार भएपछि उजुरीका लागि उनी जुम्ला पुगेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पीडित बालिका एमाले नेता शाही र उनका आफन्तबाट असुरक्षित देखिएपछि अड्डासार गरेर जुम्ला पुर्‍याइएको थियो।

‘जहाँ भेट्यौं, त्यहीँ हत्या गछौं, जाहेरी दिएपछि परिवारका सदस्यलाई पनि बाँकी राख्दैनौं भन्दै पीडित बालिकालाई धम्की आएको सुनेका थियौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले भने, ‘सुरक्षा चुनौति भएकाले बालिकालाई सुर्खेत, दैलेख, कालिकोट र जुम्लाको प्रहरी युनिटसँग समन्वय गरेर अड्डासार गरेर पठाउनुपर्ने अवस्था आइपर्‍यो।’

कर्णाली राजमार्गमा बालिकामाथि सुरक्षा चुनौति भएकाले अड्डासार गरेर पठाइएको उनले बताए। 

‘सुर्खेतबाट हामीले प्रहरीको गाडीमा राखेर दैलेखको गुराँसे पुर्‍यायौं, त्यहाँबाट दैलेख प्रहरीले कालिकोटको सिमानासम्म पुर्‍यायो,’ प्रवक्ता शाहीले भने, ‘कालिकोट प्रहरीले नाग्ममा जुम्ला प्रहरीको जिम्मा लगायो।’ बालिकाको उपस्थितिमा उनका बुवाले मंगलबार पीडक शाहीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रह्लाद कार्कीले शाहीविरुद्ध जाहेरी दर्ता गरिएको बताए।

नेता शाही र बालिकाको कुराकानीको अडियो पनि सार्वजनिक भएको छ। अडियो बाहिरिएसँगै बालिकालाई पीडक शाही र उनका आफन्तले ‘ज्यान मार्ने धम्की’ दिँदै आएका छन्। पीडित बालिकाले सार्वजनिक भएको अडियो छ महिना अघिको भएको बताइन्।

सार्वजनिक भएको अडियोमा आफूले पढाउने, अन्य खर्च पनि उपलब्ध गराउने र त्यसवापत आफूले मागेको कुरा दिनुपर्ने पीडक शाहीले भनेका छन्। उनले आफूलाई शारिरीक सम्पर्क राख्न दिनुपर्ने बताउँदै नाङ्गो फोटो फेसबुक म्यासेन्जरमार्फत पठाउन पनि भनेका छन्।  

प्रकाशित: २४ आश्विन २०८० ०८:२१ बुधबार

एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाही