समाज

आन्तरिक पर्यटकको आकर्षण केन्द्र महावै पाटन

महावै धाम क्षेत्र कालिकोट।  तस्बिर: ललित विष्ट

कालिकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षा याममा मनमोहक रहने गरेको छ। चारैतिर अग्ला अग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो। महावै पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रूपमा रहेको छ।

कालिकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन्। कालिकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालिकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ। पाटनको बिचमा रहेको डुङ्गामाथि शिवको मन्दिर रहेको छ।

हरेक वर्ष जनै पूर्णिमा मेलाका अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्दछ। शिव मन्दिरलाई यहाँका स्थानीयले महावु जगन्नाथ भन्ने गरेको र महावै जगन्नाथलाई महादेवको प्रतीकका रूपमा लिने गरिएको महावै गाउँपालिका–२ ओदाका कर्णबहादुर सिंहले बताए।

‘पूजा गरे वा प्रार्थना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ’, सिंहले भने, ‘शिव मन्दिरको मेलाका भर्नका लागि प्रत्येक वर्ष जनै पूर्णिमा दिन कालिकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेत जिल्लाबाट श्रद्धालु आउने गर्नुहुन्छ।’

महावै पाटन सबै मौसममा उत्तिकै मनमोहक रहने भएकाले पर्यटकले जहिले पनि उत्तिकै मनोरञ्जन लिन सकिने महावै गाउँपालिका–१ का सर्पराज सिंहले जानकारी दिए।

‘वैशाख, जेठ, असार, साउन र भदौ महिनामा पाटनमा पुग्ने जोकोहीलाई पनि सुन्दरताले स्तब्ध पार्छ’, उनले भने। देशका सय महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महावुधाम समेटिएको र भौतिक पूर्वाधारलगायतको विकासमा पहल थालेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘यहाँको पर्यटन विकासका लागि हामीले धर्मशाला लगायतका अन्य भौतिक संरचना निर्माणका लागि पहल थालेका छौँ।’, अध्यक्ष सिंहले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेको छ।’

धाममा धर्मशाला, सडक र मन्दिर लगायतका अन्य संरचना निर्माणका लागि ठुलो रकमको आवश्यकता रहेको छ। अध्यक्षका अनुसार हाल संघीय सरकारको आयोजनामा दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको छ, त्यसको स्तरोन्नति आवश्यक रहेको छ।

महावै पाटनबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोटका गाउँ सहज हेर्न सकिने र मौसम सफा भएका बेला बर्दिया, टीकापुर र नेपालगन्जसम्म झिलिमिली बत्ती बलेको देख्न सकिने गरेको कालिकोटको महावै गाउँपालिकाका दुर्गाप्रसाद काफ्लेले जानकारी दिए।

महावामै वर्षा याममा जानेका लागि कालिकोट र दैलेखबाट चरनका लागि भेडा बाख्रा तथा गाई भैँसीका गोठमा बस्न सकिने स्थानीयको भनाइ छ। अहिलेसम्म महावैको सीमा विवाद टुङगियको छैन। दैलेख र कालिकोटको सिमाक्षेत्रमा पर्ने महावैक्षेत्र सीमा विवादमा रहेको छ।

प्रकाशित: २४ आश्विन २०८० ०६:४७ बुधबार

महावै पाटन