समाज

आफ्नै कार्यालय भवन निर्माण गरिदिन आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको माग

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको हुँदा भवन निर्माणको माग गरेको छ।

कार्यालयको वार्षिक समिक्षा तर्जुमा कार्यक्रममार्फत आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लामा रहेका आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रमा सम्बन्धित स्थानीय तहले थप ध्यान नदिए सञ्चालन प्रक्रियामा समस्या हुने औंल्याएको छ।  

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर गम्भीर झाले दरबन्दी अनुसारको जनशक्ति अभाव र कार्यालयमा प्राप्त हुने न्यून बजेटका कारण आयुर्वेद स्वास्थ्य संस्थाले अपेक्षा र योग्यता अनुसार सेवा प्रवाह प्रभावकारी बनाउन नसकेको गुनासो गरे।

‘न्यून रुपमा प्राप्त भइरहेको बजेट झन्–झन् घटेको छ’ उनले भने, ‘दरबन्दी अनुसारको जनशक्ति कटौतिले सेवा प्रवाह यसैपनि जटिल हुने नै भयो।’ आयुर्वेद चिकित्सा प्रणालीप्रति सेवाग्राहीको आर्कषण बढ्दो रुपमा रहेपनि कार्यालय व्यवस्थापनको समस्या, जडिबुटीको पहिचान गराउन जग्गाको अभाव र न्यून बजेटका कारण सेवाग्राहीको त्यो आकर्षणलाई प्रभावकारी बनाउन समस्या आइरहेको उनको भनाइ छ।  

ताप्लेजुङ सदरमुकाममा जिल्ला आयुर्वेेद स्वास्थ्य केन्द्र रहेको छ भने मैवाखोला गाउँपालिकाको केन्द्र साँघु र मेरिङदेन गाउँपालिकामा गरी २ वटा आयुर्वेद औषधालय रहेको छ। यस्तै आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ, मिक्वाखोला गाउँपालिकाको केन्द्र थलङ साँवा, पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा गरी ४ वटा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन्।  

आठराई त्रिवेणी गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख श्रीनारायण झाले उचित सहयोग र संरक्षण गरेर आरोग्य सेवा केन्द्रलाई पालिकाकै एक अभिन्न स्वास्थ्य निकायको रुपमा ग्रहण गर्ने वातावरणका लागि सम्बन्धित स्थानीय तहलाई आग्रह गरेका छन्।  

सिदिङ्वामा रहेको नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख अजित चौधरीले आफूहरूलाई न्यून रुपमा रुहेको मासिक तलव बाहेक कार्यालय व्यवस्थापन सम्ममा खर्चको अभाव रहेकोले पालिकाकातर्फबाट केन्द्रको संरक्षण र व्यवस्थापनको दायित्व ग्रहण गर्ने वातावरण तयार गर्न आग्रह गरे।  

झाका अनुसार उनको तलव मासिक २५ हजार रुपैयाँ रहेको छ। ‘तलवले भात खाँउला छुट्टै कुरा हो, तर आरोग्य केन्द्रको संरक्षण र व्यवस्थापनमा सम्वन्धित पालिकाले समेत ध्यान दिनुपर्छ भन्ने हाम्रो आग्रह हो’ झाले भने।  

प्रकाशित: २४ आश्विन २०८० ०६:३६ बुधबार

जिल्ला आयुर्वेद केन्द्र ताप्लेजुङ वार्षिक समिक्षा