समाज

भारतबाट काम गरेर फर्कनेहरूमा डेङ्गुको संक्रमण

कञ्चनपुर – एडिज नामक लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका चारजना बिरामी कञ्चनपुरमा फेला परेका छन्। भारतबाट काम गरेर फर्केका चारजना बिरामीमा डेङ्गुको संक्रमण देखापरेको हो। 

चारै जना महाकाली अञ्चल अस्पतालमा उपचारपछि निको भई घर फर्केको जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य अधिकृत हेमराज जोशीले बताए। उनका अनुसार साउन, भदौमा एक÷एक र असोजमा दुई जनामा डेङ्गुको संक्रमण भएको पाइएको थियो। “जिल्लाको दक्षिणी क्षेत्रका डेङ्गुबाट संक्रमित छजनाभन्दा बढीले कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराएको जानकारीसमेत पाएका छौँ”, अधिकृत जोशीले भने।

डेङ्गु सार्ने लामखुट्टेले टोकेमा ज्वरो आउने, जीउ दुख्ने, आँखाको गेडीमा दुखाई महसुश हुने लगायतका लक्षण देखिने गरेका छन्। डेङ्गुको संक्रमणबाट सर्वसाधारणलाई जोगाउनका लागि बेलौरी र पुनर्वास नगरपालिकामा लार्भा खोज्ने र नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको उनको भनाइ छ। 

प्रकाशित: १६ कार्तिक २०७४ ०७:०६ बिहीबार

भारतबाट काम गरेर फर्कनेहरूमा डेङ्गुको संक्रमण