समाज

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ – देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। 

स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ। 

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका पोषण शाखा प्रमुख राजकुमार पोखरेलले देशभरका ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएकोे जानकारी दिए। 

गत कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई खुवाउने भनिएको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम निर्धारण भए पनि तिहारका कारण आज र भोलि सारिएको हो। 

भिटामिन ‘ए’ को कमीले भविष्यमा बालबालिकालाई रतन्धो रोग लाग्ने, कुपोषण हुने, दीर्घकालीन झाडा पखाला लाग्ने, दादुरालगायतका रोग लाग्ने चिकित्सकले बताएका छन्। सरकारले हरेक छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरेको छ। 

पोखरेलले तराईका २८ जिल्लाका बालबालिकामा रक्तअल्पता पनि अत्यधिक देखिएकाले छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई आइरन भएको धुलो बालविटा पनि खुवाइने बताए। 

उनले हरेक बालबालिकालाई कुपोषण छ कि छैन भनेर जाँच गरी भएका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा सिफारिस गरी पठाउन पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सूचित गरेको बताए। 

प्रकाशित: १६ कार्तिक २०७४ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App