समाज

के हो क्वान्टम ब्याट्री?

यस्तो पनि!

विद्युत्मा जोडेको केही मिनेटमा नै चार्ज हुने ब्याट्री भएदेखि मज्जा हुने थियो भन्नेबारे तपाईंलाई लागिरहेको छ भने तपाईं एक्लो व्यक्ति हुनुहुन्न। वैज्ञानिकहरूलाई पनि त्यही लागिरहेको छ। वैज्ञानिकहरू अहिले यतिबेला यस्तो ब्याट्री बनाउने धुनमा लागिरहेका छन्, जुन चार्जरमा जोडेको केही सेकेन्डभित्रै चार्ज हुन्छ। यस्तो चार्ज भरसक सूर्यकिरणबाटै हुन सकोस् र यसको कामको क्षमता रत्ति कम नहोस् भन्नेमा वैज्ञानिकहरू सचेत छन्।

यस्तो ब्याट्रीलाई वैज्ञानिकहरूले क्वान्टम ब्याट्री नामकरण गरेका छन्। तर के यसले साँच्चिकै काम गर्ला त भनेर स्वयं यसका सिद्धान्तकार वैज्ञानिकहरू नै ढुक्क छैनन्।सन् २०१२ मा पोल्यान्ड र बेल्जियमका वैज्ञानिकहरूले यस्तो पनि हुनसक्छ भन्ने प्रथम पटक प्रस्ताव गरेका थिए। यसका लागि उनीहरूले यस्तो क्वान्टम मेकानिक्सका तत्वहरू परिकल्पना गरेका थिए, जसलाई उनीहरूले सुपरएब्सर्सन नामकरण गरेका थिए। यसले अणुहरूले सिधा सूर्यबाट प्रकाशहरू अवशोषित गर्न सक्छ। यसमा जति नयाँ अणुहरू थप्दै गयो, उति यसको क्षमता बढ्दै जान्छ।

क्वान्टम ब्याट्रीमा सबै सेलहरू एकसाथ सामूहिक रूपमा चार्ज हुन्छन्। यही सामूहिकताका कारण यो चाँडो चार्ज हुन्छ। त्यसैले जतिसुकै ठूलो ब्याट्री भए पनि क्वान्टम ब्याट्री एक साथ चार्ज हुने हुँदा चाँडो चार्ज हुन्छ जबकि लिथियम–आयन ब्याट्रीमा एउटा सेल चार्ज भइसकेपछि मात्र अर्को सेल चार्ज हुन्छ र जति यसमा सेलहरू थप्दै गयो, उति चार्ज हुन ढिला हुन्छ। क्वान्टम ब्याट्री कहिल्यै पुरानो हुँदैन। पुरानो नभएपछि कहिल्यै यसको क्षमतामा हृास हुँदैन। दुःखको कुरा, यो अहिलेसम्म सैद्धान्तिक अवस्थामा मात्र छ। तर वैज्ञानिकहरूले हार मानिसकेका छैनन्। अस्ट्रेलिया र इटालीका वैज्ञानिकहरूले यस्तो सुपरअब्सोर्सन बनाउन सम्भव छ भनिरहेका छन्।

यस्तो अनुसन्धानमा अगुवाई गरिरहेका एडिलेड विश्वविद्यालयका डा. जेम्स क्वाचको दाबीअनुसार अबका तीनदेखि पाँच वर्षमा त्यस्तो ब्याट्री निर्माण गर्न सकिने आशा गरिरहेका छन्। उनले प्रयोग गरिरहेका ब्याट्रीमा लेजर वा विद्युतबाट ब्याट्री चार्ज गर्नेभन्दा सौर्यऊर्जाको प्रयोगमा जोड दिइरहेका छन्।यस्तो ब्याट्रीका लागि जुट्ने अर्का वैज्ञानिक डारियो रोसा पनि हुन्। दक्षिण कोरियाको इन्स्टिच्युट अफ बेसिक साइन्सका यी वैज्ञानिकले १० घण्टा चार्ज अवधिलाई जम्मा तीन मिनेटमा समेट्न सकिने दाबी गरिरहेका छन्। अबका केही वर्षमा चार्ज गर्ने अवधि ३० मिनेटबाट घटेर एक मिनेटमा झर्ने पनि उनको विश्वास छ।

क्वान्टम ब्याट्री अघिल्ला ब्याट्रीहरूभन्दा निकै फरक हुन्छ। यसमा ऊर्जालाई कसरी समात्ने, त्यसलाई जम्मा गर्ने र वितरण गर्ने भन्ने विधि नै फरक हुने हुनाले समस्त ब्याट्री उद्यममा कायापलट ल्याउने विश्वास वैज्ञानिकहरूको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २३ आश्विन २०८० ०२:१३ मंगलबार

के हो क्वान्टम ब्याट्री?